केपी ओलीलाई जगरनाथपुर बोलाएर एमाले प्रवेश गरेका जालिमले गैरकानुनी रुपले गाउँपालिकाको ३५ लाख खर्च गरेको खुलासा

कार्यकारी अवसर पाउँदा पदको दुरुपयोग गरि कसरी सरकारी पैसा खर्च गरिन्छ भन्ने तत्कालिन गाउँपालिका अध्यक्ष र हालका एमालेबाट पर्सा ४ का उम्मेदवार जालिम मियाको यो एउटा सानो उदाहरण मात्र हो ।

सम्वादाता | २०७९ कार्तिक २३ गते ०८: २९ मा प्रकाशित

पर्सा – जगरनाथपुर गाउँपालिका अध्यक्ष हुँदा जालिम मियाँ गत पुसमा माओवादी त्यागेर एमाले प्रवेश गरेका थिए । २०७८ पुस ८ मा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीलाई हेलिकप्टर मार्फत जगरनाथपुर मै बोलाई जालिम दलबल सहित एमाले प्रवेश गरेका थिए । आफ्नै पार्टी प्रवेश कार्यक्रममा त्यसबेला गाउँपालिका अध्यक्ष रहेका जालिमले गैरकानुनी रुपले विभिन्न शीर्षकमा गाउँपालिकाको ३५ लाख रुपैयाँ खर्च गरेको पाइएको छ । 

जालिम हाल एमालेबाट पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनावी प्रतिस्पर्धामा रहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कुनै पनि राजनीतिक कार्यक्रममा गाउँपालिका, नगरपालिका वा महानगरपालिकाको बजेट खर्च गर्न पाईदैन् । तर, गाउँपालिका अध्यक्ष जालिमले त्यसबेलाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाको मिलेमतोमा आफ्नै पार्टी प्रवेश कार्यक्रममा ३५ लाख रुपैयाँ खर्च गरेका छन् । गाउँपालिकामा आउने नेपाल सरकार समानिकरण अनुदानको बजेटबाट जालिमले उक्त रकम खर्च गरेका हुन् । 

 

गाउँपालिकाबाट प्राप्त अभिलेखका पूर्व प्रधानमन्त्री केपी ओलीको भाषण गर्ने स्थलको मर्मत सम्भार तथा व्यवस्थापनमा ५ लाख, गाउँपालिकाको विभिन्न ठाउँमा होडिङ बोर्ड निर्माण तथा लेखन खचर्मा ५ लाख, गाउँपालिकाको कार्यालय देखि बड्का पुल हुँदै पूर्व प्रम केपी ओली ल्यान्ड गर्ने हेलिप्याड सम्मको बाटो मर्मतका लागि ५ लाख, गाउँपालिकामा भवन उद्घाटन, राष्ट्रिय राष्ट्रिय झन्डा निर्माण, मुख्य गेट निर्माणमा ५ लाख, सोहरी सुहुपुर लक्ष्मीपुर पिपरदारी जगरनाथपुर सम्मको बाटो मर्मत सम्भार तथा व्यवस्थापन ५ लाख, सुपौलाीको पिच देखी गाउँपालिकाको पशु बजार हुदै पूर्व प्रम केपी ओली भाषण गर्ने स्टेडियम सम्मको बाटो मर्मत ५ लाख, केपी ओलीको सम्मान कार्यक्रम तथा विविधमा ५ लाख गरी ३५ लाख रुपैयाँ खर्च गरिएको थियो । 

 

उक्त कार्यक्रममा जलिम उनका भाई मोसालिम लगायत एमाले प्रवेश गरेका थिए । पूर्व सहमति बमोजिम गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा जालिम अध्यक्षमा उठेनन् । उनका भाई मोसालिम जगरनाथपुरको अध्यक्षमा उठेका थिए । अनेक भ्रष्टचार प्रकरणका कारण जालिमका भाई मोसालिम कांग्रेसका श्रीकान्त यादवसँग ठूलो मतान्तरले पराजित भएका थिए । संसदको टिकट पाउने सर्तमा एमाले छिरेका जालिम अहिले पर्सा ४ नम्बरमा कांग्रेसका रमेश रिजाल विरुद्ध उम्मेदवारी दिएका छन् । 

कार्यकारी अवसर पाउँदा पदको दुरुपयोग गरि कसरी सरकारी पैसा खर्च गरिन्छ भन्ने तत्कालिन गाउँपालिका अध्यक्ष र हालका एमालेबाट पर्सा ४ का उम्मेदवार जालिम मियाको यो एउटा सानो उदाहरण मात्र हो । तत्कालिन प्रशासकीय अधिकृत राज कुशवाहासँगको मिलेमतोमा जालिमले सडक ढलान बिना भुक्तानी गरेको, छात्राहरुको स्नेटरी प्याड कागजमा खरिद देखाएर भुक्तानी गरेको, गाउँपालिकाको धरौटी खाता निल गरेको लगायत भ्रष्टचार गरेका छन् । उक्त आर्थिक वर्षको राज कुशवाहाले गाउँपालिकाको महालेखा परीक्षकबाट लेखा परीक्षण समेत गराएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्