डोटीमा भूकम्प जाँदा ६ जनाको मृत्यु

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटी स्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडको भूकम्प गएक हो ।

सम्वादाता | २०७९ कार्तिक २३ गते ०७: २८ मा प्रकाशित

डोटी – डोटीमा केन्द्रविन्दु बनाइ आएको भूकम्पले घर भत्किंदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटी स्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडको भूकम्प गएक हो ।

मंगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौ घरहरू भत्किएका छन् । पूर्बीचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किंदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको र १ जना उद्धार गर्न बाँकि रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिएका छन् ।

५ जना घाइते रहेका र तिनीहरूको उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताए । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीय सहितको टोलिले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरहरू भत्किएका छन्, स्थानीय त्रसित देखिएका छन् । भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रको समेत ठाउँ ठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिएका छन् । त्यस अघि पनि राति ९ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि समेत पटक पटक झट्का गएको थियो ।

प्रतिक्रिया दिनुहोस्