८ कक्षा पास जालिम पञ्चायतकाल (२०२९ साल) देखि मुलुकको हरेक व्यवस्थामा कसरी जनताको प्रतिनिधी बनिरहेका छन् ? एउटा अनुसन्धानको विषय बनेको छ  

पञ्चायतमा जालिम वडा अध्यक्ष हुने बेला प्रजातन्त्रका लागि रमेश रिजाल पहिलो पटक ८ महिना जेल बसेका थिए ।

सम्वादाता | २०७९ कार्तिक २१ गते ०८: १५ मा प्रकाशित

वीरगन्ज – पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा वाम लोकतान्त्रिक गठबन्धनका रमेश रिजाल र एमाले जसपा गठबन्धनका जालिम मियाँ चुनावी प्रतिस्पर्धामा छन् । अहिले एमालेको सूर्य छाप लिएर चुनाव लडि रहेका जालिम पञ्चायतकालमा पहिलो पटक वडा अध्यक्ष भएका थिए । 

जालिम २०२९ सालमा वडा अध्यक्ष हुँदा रमेश रिजाल प्रजातन्त्र स्थापनाका लागि ८ महिना जेला बसेर भर्खर बाहिर निस्किएका थिए । २०२८ मा धनुषाको यदुकुआमा विद्यार्थी आन्दोलनमा प्रहरीले गरेको दमनको विरुद्धमा रमेश रिजाल लगायतका युवाहरुले सडकमा प्रदर्शन गरेका थिए ।

त्यसबेला वीरगन्जको ठाकुरराम क्याम्पसमा अध्ययन गरिरहेका रिजाल नेपाल विद्यार्थी संघमा आवद्ध भइसकेका थिए । प्रहरीले रिजाल लगायतका युवाहरुलाई नियन्त्रणमा लिएर ८ महिना जेलामा राखेको थियो ।  पञ्चायतको विरोधमा पार्टीहरु जनमत संग्रहको माग राखि देशै भर आन्दोलन गरिरहेको बेला जालिम २०३५ मा प्रधानपञ्च भएका थिए ।

त्यसबेला विजवनिया, पिडारी र जगरनाथपुर गाउँको जालिम प्रधानपञ्च भएका थिए । यता २०३४ सालमै नेपाली कांग्रेसको जिल्ला सचिव भएका रिजाल जनमतसंग्रहको लागि आन्दोलन गरिरहेका थिए । दोस्रो पटक जेल गए ।  २०४६ मा बहुदल आएसँगै जालिम कांग्रेस प्रवेश गरे । कांग्रेसको टिकटमा उनी जिल्ला विकास समितिको इलाका सदस्यमा विजयी पनि भए ।

०६२/६३ को जनअन्दोलनका क्रममा जिल्लाका अन्य नेतासँगै जालिम पनि वीरगन्जमा पक्राउ परे । अन्य नेताहरु रिहा भएपनि जालिम भने ३ महिना कारागार मै बसेका थिए । प्रहरीले जालिमलाई पुरानो वन मुद्दाको फरार अभियुक्तको रुपमा अदालत पेश गरी कारागार पठाएको थियो । उनका समकक्षी अन्य मुखियाका अनुसार पन्चायतकालमा जालिम वन कटानमा बढी संलग्न हुन्थे । जंगलको रुख कटान गरि भारतसम्म ढुवानी गर्ने रुटलाई त्यसबेला जालिम सडकको नाम पाएको थियो । 

जानकारका अनुसार तत्कालिन राजा महेन्द्र हेटौंडा सवारी भएको बेला पर्साका केही मुखियाहरु जालिमको विरुद्धमा डेलिगेशन समेत गएका थिए । ०३७ सालतिर उनको गाउँमा छापामारी हुँदा ४० वटा टायर (बयलगाडा) मा लोड भएको काठ बरामद भएको थियो । पन्चायतको अन्त्यतिर जालिममाथि वन मुद्दा समेत दर्ता भएको थियो । 

जिल्ला अदालत हुँदै सर्वोच्चसम्म चलेको उक्त मुद्दामा जालिम माथि ३ महिना कैदको सजाय समेत भएको थियो । एमाले प्रवेश गर्नु अघि जालिम माओवादी थिए । जगरनाथपुर गाउँपालिका अध्यक्ष हुँदा भएका आधा दर्जन अनियमितताको फाइल अहिले अख्तियारमा अनुसनधान भइरहेको छ ।

एमालेबाट संसदको टिकट फाइनल भएपछि गत वर्ष एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हेलिकप्टर मार्फत जनगरनाथपुरमा बोलाएर दलबल सहित पार्टी प्रवेश गरेका थिए । त्यसैले जगरनाथपुर गाउँपालिकामा यसपालीको निर्वाचनमा जालिमले आफ्नो भाई मोसालिमलाई अध्यक्षमा उठाएका थिए ।

कांग्रेसका श्रीकान्त यादवले मोसालिमलाई करिब ३ हजार मतले पराजित गरेका थिए । ६ वर्ष अगाडि माओवादी छिर्दा पनि उनले पार्टी अध्यक्ष प्रचण्डलाई हेलिकप्टर मै जगरनाथपुर बोलाएका थिए । ८ कक्षा पास जालिम पञ्चायतकाल (२०२९ साल) देखि मुलुकको हरेक व्यवस्थामा कसरी जनताको प्रतिनिधी बनिरहेका छन् ? एउटा अनुसन्धानको विषय बनेको छ । 

प्रतिक्रिया दिनुहोस्