कांग्रेसका रामनारायण कुर्मी भन्छन् – इमान्दारीता नै मेरो एजेण्डा हो

पर्साको १ (ख) मा मुख्यमन्त्री गद्दीलाई कडा टक्कर दिँदै रामनारायण

सम्वादाता | २०७९ कार्तिक १० गते ०८: ५२ मा प्रकाशित

वीरगन्ज – नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण प्रसाद कुर्मी मधेश प्रदेशका मुख्यमन्त्रीको क्षेत्रबाट उनकै प्रतिद्वन्दी बनेर निर्वाचनमा होमिएका छन् । झण्डै तीन दशकभन्दा लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध रही सक्रियपूर्वक राजनीतिक गरीरहेका कुर्मी पर्साको क्षेत्र नम्बर १ ९ख० बाट प्रदेश सभा सदस्यका उम्मेदवार हुन् ।

२०७४ सालको निर्वाचनमा पर्साको क्षेत्र नम्बर १ (क) बाट उम्मेदवारी दिएर झिनो मतान्तरले पराजित भएका कुर्मीलाई अहिलेको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले मुख्यमन्त्री लालबाबु राउतको विरुद्धमा उभ्याएको हो । कुर्मीले ७ हजार १ सय ७१ मत ल्याउँदा ८ हजार ५ सय ९३ मतका साथ तत्कालिन संघिय समाजवादी फोरम नेपालका जन्नत अन्सारी निर्वाचित भएका थिए ।

कुर्मीको राजनीतिक पृष्ठभूमी
विद्यार्थी जीवनबाटै राजनीतिक यात्राको आरम्भ गरेका कुर्मी नेपाली कांग्रेसको बुथ सभापति, क्षेत्रीय सदस्य, क्षेत्रीय सचिव, २ पटक क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि हुँदै हाल जिल्ला उपसभापतिसम्म पुगेका छन् । जिल्ला सभापतिका आकाङ्क्षी रहेका कुर्मीले पार्टीको लागि सभापति पद त्यागेर उपसभापतिमा चित्त बुझाउनुपरेको हो ।

२०५६ सालको आम निर्वाचनमा तत्कालिन वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १७ को वडाअध्यक्षमा पार्टीले विश्वास गरेर टिकट दिएपनि थोरै मतान्तरले उनी पराजित भएका थिए । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनका क्रममा पार्टीले उनलाई समानुपातिक उम्मेदवार बनाएपनि छनौटमा नपरेका कुर्मीलाई संघियता स्थापनापश्चात २०७४ सालमा भएको निर्वाचनमा पर्साको क्षेत्र नम्बर १ ९क० बाट पार्टीले प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको थियो ।

सामाजिक योगदान
राजनीतिक मात्रै नभएर उनले मजदुरहरुको संगठन नेपाल ट्रेड युनियनको पर्सा जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसमेत बनेर मजदुरको हकहितका लागि पनि आवाज उठान गर्दै आएका छन् । तराई मधेश समन्वय विभागको केन्द्रीय सचिव बनेर पनि उनले मधेशको विकास र समृद्धिका लागि काम गरेका अनुभव बटुलेका छन् । नेपाल रेडक्रस सोसाइटी पर्साको उपमन्त्रीसमेत भइसकेका कुर्मी नेपाल निर्माण व्यवसायी संघमा पनि आवद्ध छन् ।

लामो समयसम्म नृसिंह माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका कुर्मीकै कार्यकालमा सामुदायिक विद्यालय मध्येकै नमुना विद्यालयको रुपमा पनि स्थापित गराउन सफल भए । उनकै पालामा प्लस टु सम्मको पठनपाठनका साथै प्राविधिक कक्षाको पनि अध्यापन विद्यालयमा शुरु भएको हो ।

विशेष गरी भूई तहका मान्छेसँग रमाउने कुर्मी आफु पनि सामान्य परिवारबाटै प्रतिनिधित्व गर्छन् । ‘सादा जीवन उच्च विचार’ को कथनबाट प्रेरित कुर्मीले आम सर्वसाधारण तथा जनताका समस्याहरुलाई नजिकबाटै नियाल्दै मात्रै आएका छैनन् । ति समस्याहरुको समाधानका लागि हातेमालो पनि गर्छन् । त्यसकारण पनि आम नागरिकले उनलाई रुचाउँछन् ।

एजेण्डा
कुर्मीको बुझाईमा ईमान्दारीता नै सबैभन्दा ठूलो एजेण्डा हो । प्रदेश सभा सदस्यका काम, कर्तव्य र अधिकार सबै कानुनमै उल्लेख भएको हुँदा त्यही कानुनमा उल्लेख भए बमोजिमका भूमिका ईमान्दारी पूर्वक निर्वाह गर्दा अरु कुनै एजेण्डा नै नचाहिने कुर्मी बताउँछन् ।

यद्यपी जनताका आवश्यक्ता र समस्याहरुको सम्बोधनका लागि भने हर्दम तत्पर रहेको प्रतिबद्धता पनि उनले दोहोर्‍याएका छन् । उनी भन्छन्, शिक्षा, स्वास्थ्यमा आमुल परिवर्तन जस्ता आकर्षक नाराहरु म भन्दैन । शिक्षा स्वास्थ्य त हरेक नागरिकको नैसर्गिक अधिकार हो । तर यसलाई पूर्ण रुपमा कार्यन्वयन गराउन पहल भने अवश्य गर्छु ।”

सडक, खेलमैदान, सामुदायिक भवन लगायतका पूर्वाधार निर्माणका लागि पनि आवश्यक्ताको आधारमा प्राथमिकतामा राखिने उनको योजना छ । मजदुर संगठनमा आवद्ध भएर मजदुर तथा सर्वसाधारण नागरिकको अवस्थासँग नजिकबाट परिचित कुर्मीले जनताको जीवनस्तर उकास्न, रोजगारीको सृजना गर्नका लागि र आवश्यक सिपमुलक तालिम प्रभावकारी रुपमा सञ्चालन गरेर आत्मनिर्भर बनाउनका लागि ठोस योजना ल्याउने मनसाय बनाएका छन् ।

बालबालिका, युवा, महिला, वृद्धवृद्धा सबैले सम्मानपूर्वक जीवनयापन गर्ने वातावरण निर्माणका लागि र विशेष गरी सरकारी कामकाजलाई प्रभावकारी बनाएर सहज र सरल सेवा प्रवाहका लागि खबरदारी गर्ने पनि उनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्