भूमाफियाको योजना चकनाचुर

वीरगन्जको हजारी मल धर्मशालाको जग्गा पार्किङका लागि प्रयोग गरिने

सम्वादाता | २०७९ कार्तिक ३ गते ०९: ३२ मा प्रकाशित

वीरगन्ज – वीरगन्जको मूख्य व्यापारिक केन्द्रमा रहेको हजारी मल धर्मशाला आफ्नो मातहात ल्याउन वीरगन्ज र रक्सौलका भूमाफियाको एउटा समूह विगत लामो समयदेखि लागि परेको थियो । धर्मशाला सञ्चालकको फर्जी समिति बनाएर कोरोनाकालमा समेत उक्त समूहले जग्गा कब्जा गर्ने योजना बनाएका थिए ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह मेयरमा निर्वाचित नहुँदा देखि नै हजारीमल धर्मशालाको जग्गा सार्वजनिक प्रयोगमा ल्याउनु पर्ने अभियान चलाएका थिए । भूमाफियाको चंगुलबाट धर्मशालाको जग्गा बचाउन उनले निरन्तर संघर्ष गर्दै आएका थिए ।

हाल महानगरको मेयर भएपछि उनकै उपस्थितीमा हजारीमल धर्मशाला ट्रष्ट र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रबीच स शुल्क पार्किङ गर्ने सम्झौता भएको हो ।

वीरगञ्ज स्थित हजारी मल धर्मशालाको जग्गामा सवारी साधन पार्किङका लागि प्रयोग गरिने भएको छ । वडा नम्बर ६ मा पर्ने धर्मशालाको १५७६।६ वर्गमिटर जग्गा श–शुल्क पार्किङका लागि प्रयोग गरिने भएको हो ।

 

हजारीमल सेवा ट्रष्टले ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रबीच श–शुल्क पार्किङका लागि जग्गा दिनेगरि सम्झौता भएको छ । ट्रष्टका तर्फबाट अध्यक्ष नारायण कुमार अग्रवाल मारवाडी र सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सशुल्क पार्किङबाट भएको आम्दानीको रकम कर्मचारीको तलब भत्ता, मसलन्द खर्च आदी खर्चहरु कटाएर बाँकी रहेको रकम हजारी मल सेवा ट्रष्टमा राखिने भएको छ । ट्रष्टमा जम्मा भएको रकम सामाजिक कार्यमा खर्च गर्ने सहमति भएको ग्रिन सिटी समुदायिक केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए ।

सहरलाई सुन्दर र व्यवस्थित बनाउने वीरगञ्ज महानगरको योजना ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले सहयोग गरेको उनले बताए । आदर्शनगर क्षेत्रको सवारी साधनलाई हजारी मलको जग्गामा श–शुल्क पार्किङ गराउने गरी काम अघि बढाइएको छ ।वीरगञ्ज महानगरले पार्किङ स्थल व्यवस्थापनमा सहयोग गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्