‘पर्सा क्षेत्र नम्बर ४ को विकास रमेश रिजालले मात्र गर्न सक्छन्’

मधेस आन्दोलनको रापतापको बेला पराजित भएपनि रिजाल जनताको दुख सुखमा निरन्तर साथ दिँदै आएका छन् । 

सम्वादाता | २०७९ कार्तिक १ गते १४: ४० मा प्रकाशित

 

पर्सा– पर्सा जिल्लाबाट कांग्रेसको केन्द्रीय स्तरको नेता रमेश रिजाललाई अगामी निर्वाचनमा जिताएर सांसद बनाएपछि मात्र क्षेत्रको विकास हुने स्थानीयले बताउन थालेका छन् । यस अघि २०७४ को निर्वाचनमा विजयी भएका लक्ष्मण लाल कर्ण जितेर गएपछि क्षेत्र फर्केनन् । मधेस आन्दोलनको रापतापको बेला पराजित भएपनि रिजाल जनताको दुख सुखमा निरन्तर साथ दिँदै आएका छन् । 

हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य र मधेश प्रदेश इन्चार्ज समेत रहेका रिजाल जितेर सांसदमा पुगे भने क्षेत्र नम्बर ४ मात्र नभई जिल्लाकै विकासमा अग्रणी भूमिका खेल्ने भिखमपुरका हिरन पटेलले विश्वास लिएका छन् । कांग्रेसका केन्द्रीय नेताहरु रिजालका समकक्षी हुन् । मंसिर ४ पछि कांग्रेस नेतृत्वमै नयाँ सरकार बन्छ ।

‘रमेश रिजाल क्षेत्रको विकासका लागि प्रधानमन्त्री र मन्त्रीहरुसँग समन्वय गरि नयाँ योजनाहरु ल्याउन विशेष पहल गर्न सक्ने नेता हुन्,’ पटेल भन्छन्, ‘त्यो ठाउँमा जिताएर पठाउने क्षेत्र नम्बर ४ को जनताहरुको जिम्मेवारी हो ।’  मंगलबार धोबिनी गाउँपालिकाको भिखमपुर टोलमा आयोजित भेलामा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार रमेश रिजालले स्थानीय स्तरमा बढेको भ्रष्टचार नियन्त्रणका लागि कडा कानुन निर्माण गर्न आवश्यक रहेको औल्याए ।

 

संघीयता विरोधी, संविधान विरोधी, नागरिकता विद्येयक पास नगर्नेलाई जनताले पहिचान गरेकाले वाम गठबन्धनको जीत सुनिश्चित रहेको रिजालले बताए । मधेशसको प्रमुख मुद्दा रहेको नागरिकता विद्येयक प्रमाणिकरणका लागि कांग्रेस नेतृत्वको वाम गठबन्धनलाई भोट हाल्न रिजालले आह्वान गरेका थिए । 

भिखमपुर निवासी झकड मियाँले कांग्रेस नेता रमेश रिजालले कहिले पनि जात र धर्मको नाममा विभेद नगरेको बताए । केही व्यक्तिहरुले जातपात र धर्मको नाममा भोट माग्न आएको उनले खुलाए । जातपात र धर्मको नाममा भोट माग्नेलाई परास्त गर्ने मियाँले प्रतिवद्धता जाहेर गरेका थिए । 

चुनावी भेलामा मधेश प्रदेशका महामन्त्री वृहस्पती कृष्ण श्रेष्ठ, महाधिवेशन प्रतिनिधी वषिस्ठ नारायण कुर्मी, रामदेव चौहान, जगरनाथपुर गाउँपालिकाका प्रमुख एवम् कांग्रेस क्षेत्र नम्बर ४ का सभापति श्रीकान्त यादव, स्थानीय नेता राजकिशोर कुर्मी, हिरन पटेल, अशोक साह, बन्धु साह लगायतको नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्