बारामा नक्कली नोट पर्सामा २८ लाख अवैध भारु सहित ६ जना पक्राउ

नेपाल प्रतिबन्धित भारतीय नोटको अवैध ओसार पसारमा महिलाको प्रयोग गर्न थालिएको छ ।

सम्वादाता | २०७९ असोज २५ गते ०८: ५२ मा प्रकाशित

वीरगञ्ज - बारा प्रहरीले ९ लाख नक्कली नेपाली नोट सहित पक्राउ परेकाहरुलाई सर्वाजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन मार्फत नक्कली नेपाली नोटमा संलग्न तिनलाई जनालाई सार्वजनिक गरेको हो ।
नक्कली नोट सहित पक्राउ पर्नेमा भारत मोतिहारि पुर्वी चम्पारण पिपराकोठी बस्ने २५ बर्षिय रंजित कुमार मुखिया,कलैया उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३४ बर्षिय सैनुल्लाह अंसारी र सिम्रौनगढ नगरपालिका वडा नम्बर २ बस्ने ३६ बर्षिय बिनाका मुखिया बिन रहेको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले बताए ।


प्रहरी उपरिक्षक बोगटीका अनुसार असोज २१ रंजितले सिम्रौनगढ नगरपालिका ५ कनकपुर स्थित एसपि साईन मोटरसाईकल लिएर नेपाल भित्रिने क्रममा पक्राउ परेका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सैनुल्लाह र बिनाका पनि संलग्न रहेको देखिए पछि असोज २३ उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरी उपरिक्षक बोगटीले बताए ।


उनीहरु विगत लामो समयदेखि नक्कली नेपाली नोट नेपालमा विभिन्न माध्यमले भित्रियाउँदै आएका गिरोह नै रहेको बताए । उनले निर्वाचन र चाडपर्वको मौका छोपी सिम्रौनगढ ईलाकाबाट नक्कली नोटको कारोवार गर्दै आएको अनुसन्धानको क्रममा देखिएको बताए ।


नेपाल प्रतिबन्धित भारतीय नोटको अवैध ओसार पसारमा महिलाको प्रयोग गर्न थालिएको छ ।नेपालमा भारतीय ५ सय, १ हजार र २ हजार दरका नोट प्रतिबन्धित छ । ती नोटको अवैध ओसार पसारमा यसअघि पुरुषको मात्रै प्रयोग हुँदै आएकोमा अब भने कारोबारीले त्यस्ता प्रतिबन्धित नोटको अवैध ओसार पसारमा महिलाको प्रयोग गर्न थालेका हुन् ।


यसैक्रममा प्रहरीले नेपाल प्रतिबन्धित भारतीय नोट सहित तीन जना महिलालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज १६ रजतजयन्ती चोकबाट नेपाल प्रतिबन्धित भारतीय नोट २८ लाख ५६ हजार सहित तीन जना महिलालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुममा नुवाकोट जिल्लाको साविक गाविस शिखरवेसी ७ की ४५ बर्षिया अनिता तामाङ्ग, त्यही ठाउँकी ४४ बर्षिया सरिता अग्रवाल र धादिङ घर भएकी ३० बर्षिया मन्जु तामाङ्ग रहेका छन् ।

उनिहरुको साथबाट भारतीय २ हजार र ५ सय दरका नोट गरि .२८ लाख ५६ हजार रुपैयाँ बरामद भएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए । बरामद नोटको स्रोत पनि नखुलेको उनले बताए ।


बरामद नोट र पक्राउ परेका महिलाहरुलाई आवश्यक कारबाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्