उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने

आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने समय सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्धारण गरेको छ।

सम्वादाता | २०७९ असोज २४ गते ०९: ३२ मा प्रकाशित

काठमाडौं - निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज उजुरी दिन सकिने जनाएको छ। आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने समय सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्धारण गरेको छ।


आयोगले मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेसमेत गएराति नै प्रकाशन गरिसकेको छ। आयोगका अनुसार आइतबार प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारीका लागी प्रतिनिधिसभातर्फ २,४७३ (पुरुष–२२४२, महिला–२३१), प्रदेशसभा तर्फ ३,३९३ (पुरुष–३०९९, महिला–२९३, अन्य– १) जनाले मनोनयनपत्र दर्ता गरेका छन्।
मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय सोमबार दिउँसो ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म रहेको छ।


यसैगरी उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ बजे देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न २६ गते अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म हुनेछ।

प्रतिक्रिया दिनुहोस्