नेपाल पत्रकार महासंघको नयाँ सदस्यता आवेदन लिने निर्णय

बैठकले केन्द्रीय साधारणसभा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी पुस ८ र ९ गते गर्ने समेत निर्णय गरेको छ । यसैगरि प्रदेशको साधारणसभा मंसिर १५ देखि पुस १ सम्म र शाखाको साधारणसभा असोज ६ देखि कात्तिक मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ ।

सम्वादाता | २०७९ असोज ६ गते २०: १६ मा प्रकाशित

वीरगन्ज– नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको छैठौ पूर्ण बैठकले महासंघको विधान अनुसार नयाँ सदस्यताको आवेदन र नवीकरणको लागि प्रदेश समिति मार्फत प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । असोज ५ र ६ गतेदेखि भक्तपुरको नगरकोटमा सम्पन्न भएको केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकले नयाँ सदस्यताको आवेदन र नवीकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

साथै बैठकले केन्द्रीय साधारणसभा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी पुस ८ र ९ गते गर्ने समेत निर्णय गरेको छ । यसैगरि प्रदेशको साधारणसभा मंसिर १५ देखि पुस १ सम्म र शाखाको साधारणसभा असोज ६ देखि कात्तिक मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ ।

प्रविधिको विकास र न्यु मिडियाको बढ्दो प्रभावमा पत्रकार आचारसंहिताको विषय थप संवेदनशील बन्दै गएकाले हामी स्वयम्ले बनाएको आचार संहितालाई हामी स्वयम्ले प्रवद्धन र संशोधन गर्ने नीति लिएर महासंघ ‘हाम्रो लागि, हाम्रो आचारसंहिता अभियान’ थाल्न हरेक प्रदेश र जिल्ला शाखालाई आह्वान समेत गरिएको छ ।

यसै गरि बैठकले साना तथा स्वरोजगार सञ्चार माध्यमलाई आन्तरिक राजस्व कार्यालयका अतिरिक्त स्थानीय तहमा व्यवसाय दर्ता गरी दोहोरो कर तिर्न बाध्य पारिएको नीतिप्रति महासंघको ध्यानाकर्षण भएको छ । बैठकले सञ्चारमाध्यमलाई लगाइएको दोहोरो करको व्यवस्था हटाउन माग समेत गरेको छ ।

निर्वाचनको समयमा पत्रकारहरुले विभिन्न उल्झनहरु झेल्नुपरेको गुनासो छ । पत्रकारहरुलाई सहज रुपमा समाचार सम्प्रेषण गर्ने वातावरणका लागि महासंघ आग्रह गर्दछ । साथै निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न महासंघ निर्वाचन आयोग, सरकार र सबै राजनीतिक दललाई बैठकले अपिल गरेको महासचिव रोशन पुरीले जनाएका छन् । दुई दिन बसेको बैठकले १६ बुँदे नगरकोट घोषणापत्र जारी गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्