मिनाबजारको सडक र नाला माथिको अतिक्रमण हटाउन सुरु

ओम रेसिडेन्सी होटल अगाडिको फुटपाथ पनि भत्काइयो

सम्वादाता | २०७९ भदौ २९ गते १०: ०७ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिकाको वडा नम्बर ६ स्थित मिनाबजारको नाला र सडकमाथिको अतिक्रमण हटाउने अभियान थालिएको छ । बुधबार विहान वडाध्यक्ष जयप्रकाश साह अग्रवालको सक्रियतामा मिनाबजारको नालामाथिको अतिक्रमण हटाउने अभियान थालिएको हो । वडाभरि नै सार्वजनिक सम्पक्ति माथि गरिएको अतिक्रमण यथाशिघ्र हटाइने वडाध्यक्ष जयप्रकाश साह अग्रवालले जनाएका छन् । मिना बजारको बाटो साँघुरो छ । त्यसमै बजार पनि लाग्ने गरेको छ । वडाध्यक्षका अनुसार पछिल्लो समय निर्माण भएका केही घरहरुको नालामाथिनै पिलर बनाइका छन् । ‘सडकको उचाईभन्दा केही इन्च बढाएर नालामाथि प्लेट/स्लेब राखिएका छन् । जसले गर्दा सडकको चौडाई झन साँघुरिएको छ,’ उनले भने, ‘सडककै उचाईमा नालामाथि स्लेब हाल्ने योजना छ । यसको लागि बजेट समेत विनियोजन गरिएको छ ।’ 

केहीले नालामाथि नै पिलर हालेका छन् । नालाको पर्खालमाथि नै घर निर्माण गरेका छन् । ‘केही व्यक्तिले बढीनै अतिक्रमण गरेका छन् । जसले गर्दा मिनाबजारको सडक झन साँघुरो भएको छ,’ वडाध्यक्ष साहले भने, ‘यसका लागि महानगरपालिकाको नक्सा शाखासँग समन्वय गरि छानबिन गरिरहेको छु । २/३ दिनमै त्यस्ता अतिक्रमण पनि हटाउँछौँ ।’ बजार पनि व्यवस्थित गर्ने योजना रहेको वडाध्यक्षले जनाए । अतिक्रमणले गर्दा नाला सरसफाईमा समेत कठिनाई हुने गरेको छ । ‘जसले गर्दा वर्षातको पानीले निकास पाउँदैन्, बजार जलमग्न हुने गरेको छ,’ उनले भने, ‘एक इन्च अतिक्रमण पनि सैह्य हुने छैन् । जसले पनि नाला अतिक्रमण गरेको छ, त्यसमाथि सीढी बनाएको छ, वडा भरि नै त्यस्तो अतिक्रमण तोडफोड गरि हटाउने छौँ, वडावासीको साथ र सहयोग रहेपनि चाडैँ अतिक्रमणमुक्त बनाउने छौँ ।’ 

होटल अगाडिको फुटपाथ भत्काइयो
वडा नम्बर ६ स्थित मेन रोडमा रहेको ओम रेसिडेन्सी होटलले आफ्नो अगाडिको फुटपाथको उचाई बढाएर निर्माण गरेको थियो । जसले गर्दा पैदल यात्रीलाई हिँडडुलमा कठिनाई हुने गरेको थियो । धेरै पैदल यात्री खुट्टा अल्झिएर लडेका थिए । गुनासो आएपछि वडाध्यक्ष जयप्रकाश साह अग्रवालले फुटपाथमाथिको अतिरिक्त उचाई मंगलबार भत्काउन लगाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्