कालिकामाई र धोबिनी गाउँपालिकामा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न

भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती गठन गर्ने निर्णय

सम्वादाता | २०७९ भदौ २४ गते १६: ४२ मा प्रकाशित

वीरगञ्ज- पर्साको कालिकामाई र धोबिनी गाउँपालिकामा भूमि सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा गाउँपालिकाका जनप्रतिनिधीहरुलाई अभिमुखीकरण दिइएको हो ।

‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले अभिमुखीकरणको आयोजना गरेको आयोगका अध्यक्ष अहमदले बताए ।

भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका सदस्य सुरेन्द्र सिंहले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

 सोही अवसरमा भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती गठन गर्ने निर्णय पनि गरिएको छ । आयोगका अध्यक्ष अहमदका अनुसार पालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

वडामा सहजीकरण समिती र पालिकामा सेवा केन्द्र स्थापना गर्न कालिकामाई र धोबिनी गाउँपालिका अध्यक्षद्वय क्रमश बशिष्ट कुमार गुप्ता र मदन प्रसाद चौहान पनि सकरात्मक देखिन्छन् । भूमिहिन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पालिकाबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्षद्वयले भूमि आयोगका कामलाई सहयोग गर्ने बताए ।

 अभिमुखीकरणमा नारायण श्रेष्ठ, हिमाल गौतम, कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ता, उपाध्यक्ष राजमती बरैनी, पाँच वटै वडाका वडाअध्यक्षहरु व्डा सदस्यहरुको उपस्थिती रहेको थियो । त्यस्तै धोबिनी गाउँपालिकामा पालिका अध्यक्ष मदन प्रसाद चौहान, उपाध्यक्ष मञ्जु देवी, वडाअध्यक्ष, वडा सदस्य लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्