पर्सा क्षेत्र नम्बर २ (ख) बाट कसले फुत्काउँछ जसपाको टिकट ?

तीनै जना उम्मेदवार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको निकट मानिन्छन् ।

सम्वादाता | २०७९ भदौ १६ गते १७: ३८ मा प्रकाशित

वीरगन्ज– जनता समाजवादी पार्टी (जसपा) पर्सा क्षेत्र नम्बर २ (ख) प्रदेश समितिले अगामी मंसिर ४ मा हुने प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ ५ जना उम्मेदवारको नाम माथिल्लो कमिटिलाई सिफारिस गरेको छ । प्रदेश समितिको बिहीबार बसेको बैठकले क्षेत्र नं. २ (ख) प्रत्यक्ष तर्फ कामेश पंडित, प्रेमबाबु प्रसाद पटेल, मुकेश कुमार द्धिवेदी, रुपेशमान सिंह श्रेष्ठ र संजिव कुमार यादवको नाम सिफारिस गरेको क्षेत्रीय समितिका संयोजक भिखर प्रसाद चौधरीले जानकारी दिएका छन् ।  सिफारिस भएका ५ जना उम्मेदवार मध्ये प्रेमबाबु प्रसाद पटेल, मुकेश कुमार द्धिवेदी र रुपेशमान सिंहको नाम बढी चर्चामा रहेको छ ।

यी तीनै जना उम्मेदवार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको निकट मानिन्छन् । जानकारका अनुसार पूर्व गाविस अध्यक्ष समेत रहेका प्रेमबाबु मेयर सिंहको हरेक राजनीतिक परिवर्तनमा साथ दिँदै आएका छन् । मेयर राजेशमान सिंहसँगै हरेक आन्दोलन, धर्ना, पार्टी प्रवेश लगायतका गतिविधीमा प्रेमबाबुले साथ दिँदै आएका छन् । यसैगरि राजनीतिक तथा सामाजिक व्यक्तित्वको पहिचान बनाएका रुपेशमान सिंह पनि मेयर राजेशमान सिंहको छायाको रुपमा विगत देखि काम गर्दै आएका छन् । युवा माझ ‘रुपु दाई’को नामले परिचित रहेका रुपेशमान सिंह मेयर राजेशमान सिंहको प्रत्येक संघर्षमा काँधमा–काँध मिलाएर साथ दिँदै आएका छन् ।  उम्मेदवारको रुपमा चर्चामा रहेका अर्का उम्मेदवार हुन मुकेश द्धिवेदी । उनी ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व स्ववियूका सभापति समेत हुन् ।

एकताका पूर्व मेयर विजय सरावगीका राजनीतिक सल्लाहकारका रुपमा रहेका द्धिवेदी पछिल्लो समय मेयर राजेशमान सिंहको साथमा छन् । विगत साढे दुई वर्षदेखि द्धिवेदी मेयर सिंहसँग महानगरको वडामा कमिटि विस्तार देखि लिएर चुनावी अभियानमा सक्रिय रुपले लागेका थिए । पूर्व मेयर सरावगीसँग ‘मनमुटाव’ भएपछि उनी सिंहको निकट भई राजनीतिक गतिविधीमा सक्रिय थिए । मेयर राजेशमान सिंह निकट रहेका तीनै जना उम्मेदवार अगामी मंसिर ४ मा हुने प्रदेश सभा निर्वाचनमा दावेदारी पेश गरेपछि निर्वाचन क्षेत्र नं. २(ख) अहिले चर्चाको विषय बनेको छ । ‘मेयर सिंहले कुन उम्मेदवारलाई टिकट दिलाउन भूमिका खेल्छन्, त्यो हेर्न बाँकी छ,’ जसपाका एक नेता भन्छन्, ‘टिकट नपाएपछि कुन कुन उम्मेदवारले मेयरको साथ छाड्छन्, यो पनि चासोको विषय बनेको छ ।’ मेयर सिंहले हालसम्म कुनै उम्मेदवारको खुलेर लबिङ गरेका छैनन् । मेयर सिंहका किचेन केबिनेटमा रहेका यी तीनै जनाले चुनावी प्रतिस्पर्धामा उत्रिने घोषणा गरेपछि जसपामा नेतृत्व चिन्तित बनेको नेताहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्