प्रहरीको बर्दीमै डान्स गरेका सईलाइ ईन्चार्जबाट हटाइयो

प्रहरी आचरणविरुद्ध कार्य गरेको भन्दै जिल्ला प्रहरीले सईलाई आइतबार चौकीको ईन्चार्जबाट हटाएर अनुसन्धान थालेको छ ।

सम्वादाता | २०७९ भदौ ५ गते १२: ३५ मा प्रकाशित

रौतहट - रौतहटको गढीमाई नगरपालिका ६ धरमपुरमा कृष्ण जन्माष्टमीको अवसरमा स्थानीयले आयोजना गरेको एक कार्यक्रममा बर्दीमा रहेका प्रहरी नायव निरीक्षक (सई) शनिबार दिउसो मञ्चमै पुगेर नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रहरी आचरणविरुद्ध कार्य गरेको भन्दै जिल्ला प्रहरीले सईलाई आइतबार चौकीको ईन्चार्जबाट हटाएर अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुनील मल्लले सई साहले संगठनको आचरण र मर्यादाविपरीत कार्य गरेकाले ईन्चार्जको जिम्मेवारीबाट हटाई कारबाहीका लागि जिल्ला तानेको बताए । ‘ड्युटीमा रहेका सईले त्यस्तो हर्कत गरेको समाजिक सञ्जालमा भाइरल भएको हामीले पनि देख्यौं,’उनले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ । साहलाई जिम्मेवारीबाट हटाइसकेका छौं ।’
कृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरिएको कार्यक्रममा दुई जना नाचिरहेको अवस्थामा सई साह मञ्चमै पुगेर नाचेका थिए । ‘मैले राम्रो ड्युटी गरेको कसैले देखेनन् । नाचेको भिडियो भाइरल गरेर बहुत राम्रो गरे,’ सई साहले भने, ‘लवण्डाहरूले मलाई समातेर लडाएपछि नाच्न बाध्य भए । म धेरै पढलेख गरेको मान्छे होइन । जोगाउन मन लागे जोगाउनुस्; बिगार्न मन लागे बिगारिदिनुस् ।’
सई साहले स्टेजमा नृत्य गर्न जानुअघि दर्शकहरूलाई मोबाइलमा भिडियो खिच्न बन्देज लगाएका थिए । साह नाच्न थालेपछि धेरैले खिचेर भाइरल गरिदिए । सईको जिउमा लवण्डा चढेर नाचेको दृश्य समाजिक सञ्जालमा राखेर बर्दीमा संगठनको बदनाम गरेको भन्दै पोस्ट गरेका छन् । धरमपुरका स्थानीय सुरेन्द्र यादवले बर्दिमा लौवण्डा सिच ननाच्न सईलाई अनुरोध गरेको बताए ।

‘हामिले बर्दीमा नाच्नु हुन्न सर भनेर अनुरोध गरेका हौं,’उनले भने, ‘सई साबले मान्नुभएन । हौसिएर नाच्न थाल्नुभयो । सबैले भिडियो खिचेर समाजिक सञ्जालमा पोस्ट गरे ।’ सभार : कान्तिपुर

प्रतिक्रिया दिनुहोस्