२७ वर्षका लागि बालमन्दिरको जग्गा हड्पेका डा. शाक्य उपकुलपतिमा नियुक्त

हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा डा.शाक्य वीरगन्जको मेयरमा कांग्रेस पार्टीबाट टिकटको अपेक्षा राखेका थिए ।

सम्वादाता | २०७९ भदौ २ गते १४: ४४ मा प्रकाशित

वीरगन्ज– मधेश विश्वविद्यालयको उपकुलपति पदमा वीरगन्जका प्राध्यापक डा.दिपक शाक्य नियुक्त भएका छन् । डा.शाक्य वीरगन्ज स्थित वीरगन्ज पब्लिक कलेजका प्रबन्ध निर्देशक हुन् । ठाकुराम बहुमुखी क्याम्पसमा कार्यरत हुँदै करिब अढाई दशक अगाडि एक सरकारी विद्यालय भाडामा लिई डा.शाक्यले वीरगन्ज पब्लिक कलेज सञ्चालन गरेका थिए । हाल कलेजको वीरगन्जको पानीट्यांकी क्षेत्रमा बहुतल्ले २ वटा आफ्नै भवन छन् । हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा डा.शाक्य वीरगन्जको मेयरमा कांग्रेस पार्टीबाट टिकटको अपेक्षा राखेका थिए । मधेश विश्वविद्यालय ऐन २०७९ को दफा १९ को उपदफा २ बमोजिम मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले डा.शाक्यलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । डा.शाक्य बाल संगठन पर्साको सदस्य हुँदा आफ्ना छोरा संकल्प शाक्यको नाममा वीरगन्जको आदर्शनगर स्थित बालमन्दिरको भवन सहित १० कठ्ठा जग्गा २७ वर्षसम्म भाडा उपयोग गर्ने गरि सम्झौता गराएका थिए । हाल त्यहाँ बोर्डिङ स्कुल सञ्चालनमा रहेको छ । 

आर्थिक नियमावली बमोजिम मूल्यांकन नगराई जग्गा भाडामा दिइएको थियो । पर्सामा बाल मन्दिरको नाममा एक बिघा ५ कठ्ठा दश धुर जग्गा रहेको छ । बाल संगठन पर्साका तत्कालिन अध्यक्ष अशोक कुमार जयसवालको कार्यसमितिले २०६८ असार १० मा वीरगन्ज १३ निवासी संकल्प शाक्यलाई बाल मन्दिरको एक बिघा ५ कठ्ठा दश धुर जग्गा मध्य मुख्य भवन सहित १० कठ्ठा जग्गा २७ वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो । संकल्प समितिकै सदस्य डा.दिपक शाक्यका छोरा हुन् । ०६८ असार २१ मा संगठनका अध्यक्ष अशोक जयसवाल र संकल्प शाक्यबीच भएको सम्झौता पत्रमा दुई वर्ष भवन निर्माण अवधि पश्चात २५ वर्ष गरी जम्मा २७ वर्षको लागि बहालमा दिने उल्लेख छ ।  दुई पक्षबीच भएको सम्झौता अनुसार निर्माण अवधिमा प्रति महिना घर जग्गाको १६ हजार एक सय रुपैयाँ भाडा कायम गरिएको छ । सम्झौता भएको दुई वर्षपछि तीन वर्षका लागि प्रतिमहिना २१ हजार एक सय रुपैयाँ भाडा कायम गरिएको छ ।

त्यसको तीन वर्षपछि प्रत्येक तीन वर्षमा दि–आएको भाडामा १० प्रतिशतले वृद्धि गर्ने उल्लेख गरिएको छ । ‘दोस्रो पक्षले प्रथम पक्षलाई भाडा बुझाउँदा त्रैमासिक रुपमा पहिलो किस्ता वैशाख मसान्त र चौथो किस्ता माघ मसान्तमा बुझाउने र उक्त रकम प्रत्येक किस्तको अग्रीम बुझाउनु पर्नेछ,’ सम्झौता पत्रमा भनिएको छ, ‘यदि अग्रीम नआएमा सुरु महिनाको अन्तसम्म भाडा नबुझाएमा जरीवाना स्वरुप १० प्रतिशत थप गरी बुझाउनु पर्नेछ । सम्झौता भएदेखिको ९ वर्षसम्म दोस्रो पक्षले भाडा वापतको रकम संगठनको खातामा दाखिल गरेको थिएन् । २०७७ असोजमा बाल संगठन पर्साको नेतृत्वमा राम किशोर सिंह आएपछि उनले बक्यौता सम्बन्धमा ताकेता गरेका थिए ।

नयाँ नेतृत्वले भाडा बुझाउन ताकेता गर्न थालेपछि दोस्रो पक्षले तीन पटक गरि जम्मा १२ लाख तीस हजार रुपैयाँ संगठनको खातामा दाखिला गरेको थियो । अझै लाखौँ रुपैयाँ बक्यौता रहेको बाल संगठन कार्यालयले जनाएको छ । यसअघि ०७८ वैशाख ६ मा जिल्ला प्रशासन कार्यालय पर्सामा समेत बाल संगठनले बक्यौता भाडा असुल उपर गराइदिनका लागि निवेदन दर्ता गराएको थियो । तर, हालसम्म कुनै सुनवाई भएको छैन् । नगरसभा गृहको छेउमै रहेको बालमन्दिर वीरगन्जको व्यापारिक क्षेत्र हो । त्यस क्षेत्रको जग्गाको मूल्य वीरगन्जको अन्य क्षेत्रभन्दा महँगोमा खरिद बिक्री हुने गरेको छ । स्थानीयका अनुसार बालमन्दिर क्षेत्रमा धुरको २० लाख देखि २५ लाख रुपैयाँमा मूल्य छ । 

प्रतिक्रिया दिनुहोस्