महन्थलाई ओलीको प्रस्ताव चुनावमा सहकार्य गर्ने

एमालेले आगामी प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा सहकार्य गर्न लोसपालाई प्रस्ताव

सम्वादाता | २०७९ असार १९ गते १४: १० मा प्रकाशित

काठमाडौं - नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा सहकार्य गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई प्रस्ताव गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा गठबन्धन गर्न लोसपालाई आग्रह गरेका हुन्।

पार्टीको जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बोल्दै लोसपा अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष ओलीले गठबन्धनका लागि प्रस्ताव गरेको बताउँदै धारणा दिन पार्टीका नेताहरूसँग राय मागेका छन्।

‘ओलीजीले आगामी निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने प्रस्ताव गर्नुभएको छ। यसबारे पनि छलफल गर्न जरूरी छ,’ ठाकुरको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने।

लोसपाका अर्का एक कार्यकारिणी सदस्यले पनि आसन्न निर्वाचनमा गठबन्धन गरेर अघि बढ्न एमालेको प्रस्ताव आएको बताए।

‘सहकार्यका लागि कांग्रेस र एमालेसहितको दलबाट प्रस्ताव आएको छ,’ ती सदस्यले भने,‘हामी छलफलमै छौं, कुनै निर्णय भइसकेको छैन।’

कांग्रेस र एमालेका साथै हिरासतमा रहेको निलम्बित सांसद रेशम चौधरीकी श्रीमत रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले पनि आगामी चुनावमा सहकार्यका लागि लोसपालाई प्रस्ताव गरेको छ।

लोसपा श्रोतकाअनुसार यस सिलसिलामा अध्यक्ष ठाकुर र रेशमबीच कुराकानीसमेत भएको छ। बिहीबार डिल्ली बजार करागार पुगेर ठाकुरले चौधरीसँग भेट गरेको स्रोतले जनाएको छ।

विचारधारा मिल्ने दलहरूसँग आगामी निर्वाचनमा सहकार्य हुनसक्ने र त्यसका लागि एक समिति गठन गरेर छलफल अगाडि बढाइने लोसपाका एक नेताले बताए।

शनिबारदेखि जारी लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकमा चुनावी तालमेल, विधान संशोधन, वर्गीय संगठनको नेतृत्व विस्तार, केन्द्रीय समिति विस्तारलगायतका विषयमा छलफल हुने जनाइएको छ।

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आइतबार पनि बस्दैछ। सभार : आयोमेल

प्रतिक्रिया दिनुहोस्