मेयरको काकाले एक्लौटी गरे

विधी अनुसार पालिका संचालन गर्न एमाले र कांग्रेसको मांग 

सम्वादाता | २०७९ असार १८ गते १२: १५ मा प्रकाशित

वीरगन्ज– कालिकामाई गाउपालिकालाई विधी र प्रकृया संगत संचालन गर्न नेकपा एमाले तथा नेपाली कांग्रेसका नेता र जनप्रतिनिधीले मांग गरेका छन । एक्लौटी विधी विपरित पालिका संचालन गरिए कांग्रेस र एमाले नेता तथा जनप्रतिनिधीले आन्दोलनको चेतावनी समेत दिएका छन । तिन दिन भित्र पालिकाको आम्दनी तथा बजेट निर्माणको विषयमा भएको निर्णय सार्वजनिक गर्न मांग समेत गरिएको छ ।  पालिकाको वडा स्तरीय बजेट कटौती गरि अध्यक्षलाई प्रतिविम्बको रुपमा राखी उनका काकाले सबै योजना आफैले एकलौटी संचालन गर्ने तयारीमा जुटेका छन । वडाको बजेट कटौती गरि हैकम्बादी शैलीमा पालिका संचालन गर्नेको रहस्य सार्वजनिक भएपछि त्यसलाई रोक्न नेकपा एमाले र नेपाली कांग्रेसले संयुक्तरुपमा ध्यानाकर्षण गराएको हो ।

पालिकाका ‘छाया’ अध्यक्ष बशिष्ठ कुमार कलवार अनुपस्थित रहेकोले उपाध्यक्ष राजमती देवी र प्रमुख प्रशासकीय अधिकृत अमीत गिरीलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो । सो अवसरमा नेकपा एमाले कालिकामाई गाउपालिका कमिटी अध्यक्ष अनुप तिवारी, नेपाली कांग्रेसका पालिका प्रत्याशी अजय पटेल, कांग्रेसका पालिका सचिव रामानन्द ठाकुर, वडा नम्बर २ का निर्वाचित अध्यक्ष सोनालाल चौरसिया, वडा नम्बर ४ का अध्यक्ष संजय कुमार साह तथा एमाले र कांग्रेस बाट निर्वाचीत १ दर्जन भन्दा बढी महिला, दलित महिला र वडा सदस्य सहभागी रहेका थिए । यसैगरि दुबै पार्टीका वडा अध्यक्ष एवं पालिका स्तरिय नेताहरुको सहभागिता रहेको थियो ।

गाउपालिका अध्यक्ष कलवारको बजेट मोहका कारण गाउपालिकाले आउदो आर्थिक वर्षको लागि निति कार्यक्रम समेत सार्वजनिक गरेको छैन । उल्टै गाउपालिकामा एकलौटी रुपमा बजेटको बाडफाट गर्न विभिन्न षडयंत्र र प्रकृया मिचने कार्य भइरहेको छ । कान्छो मेयर कहलिएका बशिष्ठ कलवारलाई परिवारले बाध्यतावश प्रत्याशी बनाउनु पर्यो । उनका बुवा सुरेश र काका दिनेश खोटा चलन तथा लागु औषध ओसार पसारमा दोषी ठहर भई सजाय समेत भुगतानी गरेकोले उनीहरु उम्मेदवार हुन नपाएको कारण बशिष्ठलाई उम्मेदवार बनाइएको थियो । अहिले बशिष्ठलाई प्रतिविम्बको स्वरुपमा राखेर दिनेश कलवारले नारायणी सिचाईको २ नम्बर ब्लौक जस्तै एकलौटी चलाउन खोजेका छन ।

प्रतिक्रिया दिनुहोस्