१६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्नुपर्छ : अध्यक्ष नेपाल

३३० प्रदेश सभा सदस्यका लागि पनि अहिलेदेखि नै जिम्मेवारी

सम्वादाता | २०७९ असार १३ गते ०२: २७ मा प्रकाशित

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवार खडा गर्न तयारी गर्नुपर्ने बताएका छन्। सोमबार केन्द्रीय परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवार खडा गरेर काम थाल्न कार्यकर्तालाई निर्देशन दिएका हुन्। उनले ३३० प्रदेश सभा सदस्यका लागि पनि अहिलेदेखि नै जिम्मेवारी दिनुपर्ने धारणा राखे।

उनले मंसिरमा संघ र प्रदेशको निर्वाचन हुने समेत दाबी गरे। उनले अरुको भर नपरी सम्पूर्ण शक्ति परिचालन गरेर निर्वाचनको तयारीमा लाग्नुपर्ने उल्लेख गरे। समानुपातिक मत संख्या बढाउन सके सिट संख्या पनि बढ्ने उल्लेख गरे। नेपालले स्थानीय तह निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिएको भए आफूहरुले २० लाख मत ल्याउने दावी गरे।

विचार नभएको पार्टीले केही गर्न नसक्ने बताउँदै उनले विचार शून्य भएको कार्यकर्ताले पनि केही गर्न नसक्ने धारणा राखे। उनले अन्तर्राष्ट्रिय शक्तिको चलखेल बढेको समेत बताए। नेपाल कतै यी शक्ति राष्ट्रहरूको द्वन्द्वको अखडा बन्ने होइन भन्ने कुराले चिन्तित बनाएको उनले उल्लेख गरे। नेपालले भने,‘एमसीसी, एसपीपीलगायतका नाममा नेपाललाई फसाउन खोजिएको छ।’

प्रतिक्रिया दिनुहोस्