पुन: छिपहरमाई गाउँपालिका ताक्दै साह

छिपहरमाईको तुलनामा सखुवाप्रसौना गाउँपालिकामा मनोमानी गर्न नपाएपछि साह सरुवा मिलाउने प्रयासमा छन् । 

सम्वादाता | २०७९ जेठ ३० गते १९: ०२ मा प्रकाशित

वीरगन्ज– छिपहरमाई गाउँपालिकामा झन्डै ३ वर्ष प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका देवनाथ साह ७ महिना अगाडि मात्र सखुवाप्रसौनी गाउँपालिकामा सरुवा भएका थिए । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा छिपहरमाई गाउँपालिकाको कार्यपालिकामा कांग्रेस र जनता समाजवादी पार्टीको बहुमत आएको छ । कार्यपालिकामा कांग्रेस र जसपाको बहुमत आएसँगै प्रशासकीय अधिकृत देवनाथ साह पुन: छिपहरमाई फिर्कने दाउमा छन् । स्रोतका अनुसार छिपहरमाईको तुलनामा सखुवाप्रसौना गाउँपालिकामा मनोमानी गर्न नपाएपछि साह सरुवा मिलाउने प्रयासमा छन् । 

छिपहरमाईका प्रमुख मनोज गुप्ता दोस्रो पटक निर्वाचित हुनुमा आफ्नै कार्यकालमा स्थाई सरकार सञ्चालन भएको उल्लेख गर्दै आफू निकटका सञ्चार माध्यममा चर्चा गराउन थालेका छन् । जबकि अधिकृत साहले छिपहरमाई हुँदा आफ्नो भाईको फर्मबाट करौडौँको सामान काटेसेशनमा खरिद गराएका थिए । भौतिक निर्माण देखि सडकको काम समेत उनले आफ्नो भाई पर्ने कृष्ण साह मार्फत गराएका थिए । स्थानीय र जनप्रतिनिधीले उनको कार्यशैलीको विरोध गर्न थालेपछि उनी सखुवाप्रसौनी गाउँपालिका गएका थिए ।  छिपहरमाई गाउँपालिकामा हुँदा साहले अधिकांश विज्ञापन आफू निकटका सञ्चार माध्यमलाई दिएर गोप्य रुपमा छाप्न लगाउँथे ।

ठेक्काको विज्ञापन प्रकाशित गरिएपनि उक्त दिन ती पत्रिका बजारमा आउँदैन्थ्यो, लुकाइन्थ्यो । अन्य ठेकेदारले सूचना थाहा नपाउन भन्ने उद्देश्यले साहको समूहले विज्ञापन प्रकाशित भएको दिनको पत्रिका लुकाउने गरेका थिए । ३ वर्षको अवधिमा कति विज्ञापन कुन पत्रिकामा प्रकाशित भयो त्यस्को विवरण गाउँपालिकाले सार्वजनिक गर्यो भने प्रशासकीय अधिकृत साह र सञ्चारमाध्यमको नेक्सस सजिलै उजागर हुन्छ ।  गाउँपालिका स्रोतका अनुसार दुईवटा आर्थिक वर्षमा साहले भाई कष्णलाई झन्डै ४ करोडको काम दिएका थिए । ससुवाप्रसौनीमा एमालेका युवा नेता जसन्वत यादव प्रमुखमा विजयी भएका छन् । कार्यपालिकामा पनि एमालेकै बहुमत छ । पर्साको पकाहामैनपुर– २ भेलाहा टोल निवासी साहलाई छिपहरमाई जस्तै सखुवाप्रसौनीमा मनोमानी रुपले काम गर्न अपठ्यारो भएकाले उनी पुन: छिपहरमाईमै फिर्कन हरेक हतकन्डा अप्नाइरहेका छन् । यस विषयमा अधिकृत साहको प्रतिक्रिया लिन पटक पटक प्रयास गर्दा पनि सफल हुन सकेन् । 

प्रतिक्रिया दिनुहोस्