जनकपुरका प्रअको श्रीमतीलाई उपहार : जन्मदिनमा दिए शिक्षिकाको जागिर

जन्मदिनको उपलक्ष्यमा ठूल्ठूला उपहार त दिन सकिनँ । ठूलो जिम्मेवारी दिएको छु । आफ्नो प्रतिभा, क्षमता र योग्यतालाई प्रस्फुटन गर्दै माविस्तरमा शिक्षण गर्न पाएको अवसरलाई सही सदुपयोग गर्नू ।

सम्वादाता | २०७९ जेठ २२ गते १७: १० मा प्रकाशित

जनकपुर– जन्मदिनमा पुरुषहरूले आफ्नी श्रीमतीलाई विभिन्न उपहार दिएर खुशी पार्न प्रयास गर्ने गर्छन् । कसैले घर, गाडी त कसैले विभिन्न विलासिताका वस्तुहरू जन्मदिनमा उपहारस्वरूप दिने गरेका हुन्छन् । धनुषामा एक प्रधानाध्यापकले श्रीमतीलाई खुशी पार्न आफ्नै स्कूलमा शिक्षिकाको जागिर उपहारस्वरूप दिएको पाइएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित श्री माध्यमिक विद्यालय इच्छापुरका प्रधानाध्यापक बैकुण्ठकुमार श्रेष्ठले आफ्नो श्रीमती मोहमाया श्रेष्ठलाई जन्मदिनमा शिक्षिकाको जागिर दिएर फेसबूकबाटै बधाई समेत दिएका थिए ।
जन्मदिनको उपलक्ष्यमा ठूल्ठूला उपहार त दिन सकिनँ । ठूलो जिम्मेवारी दिएको छु । आफ्नो प्रतिभा, क्षमता र योग्यतालाई प्रस्फुटन गर्दै माविस्तरमा शिक्षण गर्न पाएको अवसरलाई सही सदुपयोग गर्नू । आफूले पाएको जिम्मेवारीलाई अवसर ठानी शतप्रतिशत दिनू भन्दै श्री मावि इच्छापुरमा जागिरमा नियुक्त भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना श्रीमतीज्यू, प्रअ श्रेष्ठले सामजिक सञ्जालमा आफ्नो श्रीमतीलाई जन्मदिनको शुभकामना दिँदै लेखेका छन् । कुनै पनि सामुदायिक विद्यालयमा करार, अनुदान वा निजी स्रोतबाट शिक्षक नियुक्त गर्दा सार्वजनिक विज्ञापन आह्वान गरी अध्यापन अनुमति पत्र लाइसेन्स प्राप्त प्रशिक्षार्थीहरूबाट प्रतिष्पर्धा गराई नियुक्त गर्नुपर्ने हुन्छ ।
तर विज्ञापन आह्वान नै नगरी अध्यापन लाइसेन्स समेत नभएकी आफ्नी श्रीमतीसहित अन्यलाई जागिर खुवाउन नियम, प्रक्रिया समेत मिचेर प्रअ श्रेष्ठले आफ्नो श्रीमती मोहमायासहित अन्यलाई शिक्षक पदमा नियुक्त गरेको खुलेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामअशिष महतोसँग मिलेमतो गरी प्रअ श्रेष्ठले आफ्नो श्रीमती तथा अध्यक्ष महतोले आफ्नो नातागोतालाई प्राथमिक तह र माध्यमिक तहमा गैर कानूनी नियुक्ति दिएको खुलेको छ।
विज्ञापन नै नगरी, प्रतिष्पर्धा समेत नगराई दुवैको मिलेमतोमा वीणाकुमारी यादव, सुजिता यादव, अरविन्दकुमार यादव, मोहमाया श्रेष्ठ र मनोजकुमार महतोसहित ५ जनालाई विभिन्न तहमा नियुक्ति दिएर तलब भत्ता खुवाउँदै आएका छन् ।
नियुक्त गरिएका शिक्षकहरूमध्ये विना यादव, सुजिता यादव, अरविन्दकुमार यादव, मोहमाया श्रेष्ठको अध्यापन अनुमति पत्र नै छैन । आफ्नो श्रीमतीको लाइसेन्स नभएको कुरा प्रअ श्रेष्ठ पनि स्वीकार गर्छन् । नियुक्त गरिएका पाँचैजना शिक्षकको लाइसेन्स नरहेको प्रअ श्रेष्ठले स्वीकार गरे ।
२०७८ पुस २९ गते निजी स्रोतबाट शिक्षक नियुक्त गर्नका लागि विद्यालयमा सूचना टाँस गरी लिइएको परीक्षाबाट श्रीमती उत्तीर्ण भएर आफ्नै हातबाट नियुक्ति लिएको र श्रीमतीलाई जन्मदिनको अवसरमा उपहारस्वरूप जागिर दिएको भनेर सामाजिक सञ्जालमा पनि लेखेको उनले स्वीकारेका छन् । मेरो श्रीमती एमएड उत्तीर्ण भएकाले निजी स्रोतबाट तलब दिने गरी विद्यालयमा सूचना टाँस गरी लिइएको लिखित परीक्षामा उनीसहित ३ जना पास हुनभएको थियो, प्रअ श्रेष्ठले भने, शिक्षक संख्या अभाव भएकाले निजी स्रोतबाट तलब खाने गरी नियुक्ति गर्ने उद्देश्य रहेकाले लाइसेन्स नभएकालाई पनि हामीले नियुक्त गरेका हौं ।
प्राथमिक तहमा स्वयंसेविका जस्तै गाउँकै पढेलेखेकालाई जागिर दिने उद्देश्य भएकाले लाइसेन्सलाई प्रतिस्पर्धाका लागि मापदण्ड नबनाइएको उनले बताए। प्राथमिक तहमा स्वयंसेवाका लागि ३ पदका लागि लिइएको लिखित परीक्षामा ९ जनाले आवेदन दिएकोमा मनोजकुमार महतो, मोहमाया श्रेष्ठ र वीणाकुमारी यादव मात्र उत्तीर्ण भएकाले उनीहरूलाई नियुक्ति दिइएको उनले बताए।
शैक्षिक योग्यताको आधारमा प्राथमिक तहदेखि माध्यमिक तहसम्म पढाउने उद्देश्यले उनीहरूको नियुक्ति गरिएको उनले बताए। स्वयंसेवाका लागि नियुक्त गरिएका ती तीन जना शिक्षकहरूलाई ५ हजारदेखि १० हजार रुपैयाँसम्म मासिक तलब दिने गरिएको उनले बताए । स्नातकोत्तर उत्तीर्ण गरेकाले आफ्नी श्रीमतीको तलब १० हजार रुपैयाँ मासिक रहेको उनको भनाइ छ ।
त्यसैगरी अनुदानको कोटामा माध्यमिक तहमा नियुक्त गरिएका दुईजना अन्य शिक्षकलाई पनि विज्ञापन नै नगरी नियुक्ति दिएको खुलेको छ। नेपाल सरकारको कोटाबाट तलब खाने गरी अरविन्दकुमार यादव र मनोजकुमार महतोलाई नियुक्त गरिएको छ । ती दुईजनाको पनि अध्यापन अनुमति पत्र छैन।
विज्ञान र गणित विषयका लागि अन्य विद्यालयमा पनि लाइसेन्स नभएकालाई नियुक्त गर्ने गरिन्छ भन्ने कुरा विद्यालय व्यवस्थापन समितिको सल्लाह अनुसार नै लाइसेन्स मागेनौं, प्रअ श्रेष्ठले भने। स्थानीय तहको सिफारिशमा नेपाल सरकारबाट तलब खाने गरी उनीहरूलाई नियुक्त गरिएको उनले बताए। अनुदान कोटामा नियुक्त भएका ती दुई जना शिक्षकलाई सरकारी तलबमान अनुसार मासिक ३४ हजार ९९० रुपैयाँ तलब दिने गरिएको उनले बताए । (साभार : लोकान्तर)

 

प्रतिक्रिया दिनुहोस्