बजेटमा मधेस प्रदेश ठगियो , खास कुनै योजना छैन् : सांसद यादव

सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेश पूर्ण रूपमा ठगिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सम्वादाता | २०७९ जेठ १८ गते १४: ३४ मा प्रकाशित

काठमाडौँ - सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेश पूर्ण रूपमा ठगिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद यादवले मधेस प्रदेशको लाइफलाइनका रूपमा रहेको हुलाकी राजमार्गमा बजेट थोरै विनियोजन गरेको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न पनि अर्थमन्त्री जनार्दन शर्मालाई दबाब दिए ।
सांसद यादवले मधेस प्रदेशलाई दिइने अनुदानसमेत गठबन्धन सरकारले घटाएर संघीयतामाथि नै धावा बोल्ने काम गरेको आरोपसमेत लगाए ।

‘यो बजेटमा मधेस प्रदेश पूर्ण रूपमा ठगिएको छ भन्ने महसुस गरिएको छ । हुलाकी सडक मधेस प्रदेशको लाइफलाइन हो । र हुलाकी सडकमा थोरै बजेट राखिएको छ । जबकि धेरै पुलहरु, सडकहरु बनाउन बाँकी नै छ,’ उनले भने, ‘त्यसकारण अर्थमन्त्रीजीको, यो सरकारको यसमा ध्यान जाओस् कि यो मधेस प्रदेशको लाइफलाइन हो हुलाकी राजमार्ग । र, त्यसमा जुन बजेट राखिएको छ । एकदमै थोरै छ । त्यसमा पुनर्विचार होस् । यस्तै मधेस प्रदेशमा कुनै खास योजना यो बजेटमा देखिएन । त्यसमा पनि पुनर्विचार होस ।मधेस प्रदेशलाई दिइने अनुदान गठबन्धनको सरकारले घटाएको छ । जुन चिन्तायोग्य छ । यसले गर्दा भोलि संघीयतामाथि नै खतरा हुन्छ कि त्यसमा पनि पुनर्विचार होस् ।’

सांसद यादवले बजेटमा कुनै पनि खास योजना मधेस प्रदेशका लागि नछुट्टयाएको भन्दै पुनर्विचार गर्न पनि सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस्