आज गणतन्त्र दिवस : गृहमन्त्रालय जहाज खोजीमा , अर्थमन्त्रालय बजेट पेसको तयारीमा

गणतन्त्र दिवसको दिन गृहमन्त्री बालकृष्ण खाँणले जहाज खोजी कार्यमा तीव्रता दिएका छन् भने अर्थमन्त्री जनार्दन शर्माले सदनमा बजेट पेसको तयारीमा जुटेका छन् ।

सम्वादाता | २०७९ जेठ १५ गते १५: ४७ मा प्रकाशित

वीरगञ्ज - आज जेठ १५ गते, राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।
आज गणतन्त्र दिवसका अवसरमा काठमाण्डौ टुँडीखेलमा विशेष कार्यक्रम गरिएको छ भने बिहान ९.५५ बजे पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । आजै बेलुका ४ बजे सरकारले आउँदो आर्थिक वर्ष २०७९÷०८० को लागि बजेट सार्वजनिक गर्दै छ ।
आज बिहान हरेक वर्ष जस्तो यस वर्ष पनि दिवसका अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिका प्रतीक परेवा पनि उडाइएको छ । यस्तै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरेको थियो ।
तर अहिले सम्पर्कविहीन जहाजको कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सम्भावित दुर्घनास्थल खोजी जारी राखेको छ । गृहमन्त्री बालकृष्ण खाँणले जहाज खोजी कार्यमा तीव्रता दिएका छन् भने अर्थमन्त्री जनार्दन शर्माले सदनमा बजेट पेसको तयारीमा जुटेका छन् ।
गृहमन्त्री बालकृष्ण खाँणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरकोे जहाज खोजी कार्यमा तीव्रता दिन सुरक्षा निकाय र सम्बन्धित जिल्ला प्रशासन प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले दिउँसो चार बजे आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्न लाग्नु भएको हो । देशको अर्थतन्त्र जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको अवस्थामा आउन लागेको बजेटलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्