सशस्त्र प्रहरीमाथि हतियार सप्लाईको आरोप

सशस्त्र प्रहरी बलको प्रदेश २ स्थित छिन्नमस्ता बाहिनीका प्रमुख तथा डीआईजी गणेश ठाडामगरको निर्देशनमा खटिएका चारजना सादा पोसाकका सिपाही र हवल्दारविरुद्ध जिल्ला अदालत बाराले पक्राउ पूर्जी जारी गरेको हो ।

सम्वादाता | २०७९ जेठ १२ गते १३: ३३ मा प्रकाशित

काठमाडौं– हतियार सप्लाई गर्ने गरेको आरोपमा सशस्त्र प्रहरी बलका चार जना सिपाही र हवल्दारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। सशस्त्र प्रहरी बलको प्रदेश २ स्थित छिन्नमस्ता बाहिनीका प्रमुख तथा डीआईजी गणेश ठाडामगरको निर्देशनमा खटिएका चारजना सादा पोसाकका सिपाही र हवल्दारविरुद्ध जिल्ला अदालत बाराले पक्राउ पूर्जी जारी गरेको हो । इन्टेलिजेन्स बाहेक सादा पोशाकमा सुरक्षाकर्मी खटाउन नपाइने सशस्त्र हेडक्वाटरको आदेश विपरित डीआईजी ठाडामगरले सादा पोशाकमा सुरक्षाकर्मी खटाएका थिए । उनै ठाडामगरले खटाएका चारजना सुरक्षाकर्मीविरुद्ध अहिले जिल्ला प्रहरी कार्यालय बाराको सिफारिसरमा जिल्ला अदालत बाराले पक्राउ पूर्जी जारी गरेको छ।

आफ्ना चार जना निर्दोष सिपाहीविरुद्ध हतियार सप्लाई जस्तो गम्भीर आरोपमा पक्राउ पूर्जी जारी भएपछि सशस्त्र हेडक्वाटरले यसलाई गम्भीर रुपमा लिएर छानबिन सुरु गरेको छ। तराईका विभिन्न जिल्लाहरुमा सुरक्षा निकायले आपराधिक गिरोहको संरक्षणका साथ अवैध धन्दाबाट रकम आर्जन गर्ने गरेको आरोप लाग्ने गरेको बेला यस्तो घटना सार्वजनिक भएको हो।

घटना स्थानीय तह निर्वाचन भन्दा केही दिन अघिको हो। स्रोतका अनुसार ठाडामगरले सादा पोशाकमा खटाउँदै आएका सुरक्षाकर्मीलाई काम खोई, काम चाहियो भन्दै प्रेसर दिएका थिए। त्यसपछि डीआईजी ठाडामगरको निर्देशनमा खटिएका सहायक हवल्दार सागर झाले हाकिमको प्रेसर आएपछि पेस्तोल किन्ने भन्दै एक भारतीय नागरिक लालबाबु कुसहवासँग सम्पर्क गरेर हतियार बारामा ल्याइदिन आग्रह गरेका थिए भारत मोतिहार भलेवाहका कुसहवा हतियार सप्लाईमा निपूर्ण मानिन्छन्। उनकै योजनामा मध्य तराईमा हतियार सप्लाई हुने गरेको स्रोत बताउँछ।

भारतीय नागरिक कुसहवाले बेच्नका लागि हतियार ल्याउँछन् त्यहीबेला उनलाई हतियारसहित पक्राउ गरिएको भनेर काम देखाउने उद्देश्यले ठाडामगरले खटाएका सादा पोशाकका घुमुवामा बारा पुगेका थिए । सहायक हवल्दार झासँगै सशस्त्रका सिपाही आत्माराम राउत, सुनिल यादव र अशोक सोनार बारा पुगेका थिए । तर, सशस्त्रका घुमुवाले भारतबाट पेस्तोल लिएर बारा आउँदै गरेका कुसहवालाई पक्राउ गर्नुको साटो उनीहरुभन्दा पहिला बारा प्रहरीले उनलाई पेस्तोलसहित नियन्त्रणमा लियो।

बाराको सिम्रनगौढ नगरपालिका–९ बा कुसहवा १ थान पेस्तोलसहित पक्राउ गरेका थिए। कुसहवालाई पक्राउ गरेपछि बारा प्रहरीले उनलाई हतियार सप्लाई गर्ने अरु को–को छन् उनीहरुलाई पनि हतियार लिएर आउन भनेर बोलाउन लगाएका थिए।

कुसहवाले भारतमा रहेका आफ्ना दुई साथीलाई पेस्तोल किन्ने मान्छे रेडी भएको भन्दै दुई थान पेस्तोल लिएर आउन निर्देशन दिएका थिए। कुसहवा पक्राउ परेको भोलिपल्ट उनीहरु दुई थान पेस्तोल लिएर बारा आउँदै गर्दा प्रहरीको फन्दामा परे।

पक्राउ परेका भारतीय नागरिकसँगको सोधपुछबाट यो घटनामा सशस्त्र प्रहरीका चार जना हवल्दाररसिपाहीको संलग्नता रहेको खुलेको हो। भारतीय नागरिकलाई पेस्तोलसहित पक्राउ गरेपछि उनीहरुले सशस्त्र प्रहरीका चार जनाको नाम लिएका थिए। त्यसपछि उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।

यो घटनामा डीआईजी ठाडामगरले गम्भीर गल्ती गरेको भन्दै हेडक्वाटरले गुपचुपमा छानबिन प्रक्रिया अघि बढाएको छ । घटनाबारे ठाडामगरसँग प्रतिक्रिया लिने प्रयास सफल हुन सकेन । सशस्त्रका प्रवक्ता तथा डीआइजी विदूर खड्काले भने यस घटनाबारे आफूलाई जानकारी नै नभएको भन्दै पन्छिए । यता प्रहरीले भने सशस्त्रलाई पक्राउ परेका चार जना सुरक्षाकर्मीलाई बुझाउन भन्दै परिपत्र गरेको स्रोतले जनाएको छ। (साभार : नेपाल लाइभ)

 

प्रतिक्रिया दिनुहोस्