पर्साको १४ मध्ये १३ पालिकामा नयाँ जनप्रतिनिधी

छिपहरमाई गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका मनोज गुप्ता दोस्रो पटक गाउँपालिका प्रमुखमा विजयी भएका छन् ।

सम्वादाता | २०७९ जेठ १२ गते ०९: ४६ मा प्रकाशित


वीरगन्ज– एक महानगरपालिका, तीन नगरपालिका र १० वटा गाउँपालिका गरि १४ स्थानीय तह रहेको पर्साको एउटा पालिकामा मात्र पुरानो जनप्रतिनिधी दोहोरिएका छन् । बाँकी १३ वटा पालिकामा नयाँ जनप्रतिनिधी निर्वाचित भएका छन् । छिपहरमाई गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका मनोज गुप्ता दोस्रो पटक गाउँपालिका प्रमुखमा विजयी भएका छन् । ०७४ को स्थानीय तहको चुनावमा माओवादी केन्द्रबाट छिपहरमाई गाउँपालिका प्रमुखमा विजयी भएका गुप्ता यसपाली एमालेबाट निर्वाचित भएका हुन् ।  मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जको मेयर र उपमेयरमा ५ दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन । मेयरमा जसपाका राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका हुन् । निवर्तमान मेयर तथा एमालेका उम्मेदवार विजय कुमार सरावगीलाई जसपाका सिंहले २२ हजार ५ सय ४४ मतले पराजित गरेका हुन् । सिंहले ४६ हजार २१५ मत ल्याएका छन् भने सरावगीले २३ हजार ६ सय ७१ मत पाएका छन् । उपमेयरमा कांग्रेसका इम्तियाज आलमले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार पुरुषोत्तम लाल झालाई २० हजार ५१० मतले पराजित गरेका छन् । आलमले ३० हजार ७८ मत ल्याएका छन् भने झाले ९ हजार ५६८ मत पाएका छन् । 

एमाले पहिलो पार्टी १४ वटा स्थानीय तह मध्ये ५ वटामा विजयी हासिल गरि एमाले पर्सामा पहिलो पार्टी बनेको छ । कांग्रेस र जनता समाजवादी पार्टीले ४/४ वटा पालिका प्रमुखमा र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारले एउटा पालिकाको प्रमुखमा विजयी हासिल गरेका छन् । एमालले दुईवटा नगरपालिका र तीनवटा गाउँपालिकामा विजयी हासिल गरेको हो । पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका, ठोरी गाउँपालिका, छिपहरमाई गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकामा एमालेका उम्मेदवार प्रमुखमा विजयी भएका हुन । पोखरिया, पर्सागढी र ठोरीको प्रमुख/उपप्रमुख पदमै एमालेका उम्मेदवार विजयी भएका छन् भने छिपहरमाई र सखुवाप्रसौनीको प्रमुखमा एमालेका उम्मेदवार विजयी भएका हुन् । छिपहरमाईको उपाध्यक्षमा कांग्रेस र सखुवाप्रसौनीको उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन् ।  पकाहामैनपुर, जीराभवानी, जगरनाथपुर र पटेर्वासुगौली गाउँपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । बीरगन्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, धोबिनी र कालिकामाई गाउँपालिकाको प्रमुखमा जसपाका उम्मेदवार विजयी भएका छन् । वीरगन्जको उपमेयरमा कांग्रेस, बहुदरमाईको उपमेयरमा एमाले, धोबिनी र कालिकामाई गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जिल्लामा एउटा मात्र पालिका प्रमुखमा विजयी हासिल गरेको छ । विन्दवासिनी गाउँपालिका प्रमुखमा लोसपाका उम्मेदवार प्रमोद तिवारी निर्वाचित भएका छन् । उपाध्यक्षमा एमालेकी ज्योतीदेवी चौरसिया विजयी भएकी छन् । 

प्रतिक्रिया दिनुहोस्