प्रतिनिधी सभा निर्वाचनमा उपेन्द्र यादव पर्साबाट लड्ने सम्भावना

छोरा हारेपछि कांग्रेसले धोका दिएको आरोप, ओलीसँग मिल्ने संकेत

सम्वादाता | २०७९ जेठ १२ गते ०९: २१ मा प्रकाशित


काठमाडौं – अघिल्लो प्रतिनिधी सभा निर्वाचनमा सप्तरीबाट विजयी भएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले तनावमा रहेको बुझिएको छ । हालै सम्पन्न भएको स्थानीयत तहको निर्वाचनमा जसपाका अध्यक्ष यादवको वडा र नगरपालिकामा उनको पार्टीको उम्मेदवार पराजित भएका छन् । सप्तरीमा यादवलाई निर्वाचन क्षेत्रमा संकट पर्ने देखिएको छ । अध्यक्ष यादवले प्रतिनिधि सभाको निर्वाचनमा कुन क्षेत्रबाट उम्मेदवार बन्ने हुन् केही भनेका छैनन् । पार्टी स्रोतका अनुसार उनले सप्तरी पनि छाड्ने तयारी गरेका छन् । हार्ने सम्भावना देखेपछि सुनसरी छाडेर सप्तरी आएका अध्यक्ष यादव पर्सा तिर चुनाव लड्न जाने तयारी गरेको चर्चा जसपामा छ । वीरगन्ज महानगरपालिकाको १३ वडाध्यक्ष सहित मेयरको पदमा जसपाका उम्मेदवार विजयी भएका छन् । पर्साको क्षेत्र नम्बर १ वीरगन्ज महानगर भित्रै पर्छ । दुई वटा प्रदेश सांसद र प्रतिनिधी सभाको सांसद समेत जसपाकै उम्मेदवार विजयी भएका थिए । जसपा स्रोतका अनुसार पार्टी अध्यक्ष यादवका लागि क्षेत्र नं. अनुकूल हुने आंकलन गरिएको छ ।

यसैबीच, अध्यक्ष यादवले एमालेका अध्यक्ष ओलीसँग प्रतिनिधि सभाको निर्वाचनका विषयमा आफू उम्मेदवार बन्ने विषयमा पनि कुराकानी गरेका छन् । आफ्ना छोरा उप–मेयरमा पराजित भएपछि तनावमा परेका जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग सुटुक्क भेट समेत गरेका छन् । भक्तपुरको बालकोटमा अध्यक्ष यादवले एमालेका अध्यक्ष ओलीलाई तीन दिन अगाडि भेट गरेको स्रोतले जनाएको छ । उनीहरूबीच भएको कुराकानीका विषयमा औपचारिक रुपमा केही भनिएको छैन । जसपाका एक नेताले भने, ‘हाम्रो अध्यक्ष उपेन्द्र यादवज्यू र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीज्यूबीच बालकोटमा भेट भएको छ । उहाँहरूका बीच आगामी निर्वाचनमा मिलेर जाने विषयमा कुराकानी भएको बुझिएको छ ।’

उपेन्द्र यादवले आफ्ना छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको उप–मेयरमा उम्मेदवार बनाएका थिए । अमरेन्द्रको लज्जास्पद हार भएको छ । अध्यक्ष यादवले आफ्ना छोरालाई नेता बनाउन उप–मेयरमा उम्मेदवार बनाएका थिए । तर, आफ्नै पार्टीभित्रका लोकप्रिय नेताहरूलाई टिकट नदिएपछि रिसाएका मतदाताले अमरेन्द्रलाई हराइदिएका हुन् । अध्यक्ष यादवले नेपाली कांग्रेसले गठबन्धनमा धोका दिएको निष्कर्ष निकालेका छन् । कांग्रेसले धोका दिएको ठहर गरेका यादवले एमालेका अध्यक्ष ओलीसँग भेटेर ५ दलीय गठबन्धनबाट बाहिरिने संकेत गरेको चर्चा छ ।

 

प्रतिक्रिया दिनुहोस्