नवनिर्वाचित मेयरको ‘करनी र कथनी’ मा फरक

समर्थकले तस्बिरमा श्रीपेच लगाउँदा त्यसो नगर्न अपिल गर्ने मेयरले सांसदले चाँदीको मुकुट लगाउँदा सहजै स्वीकार गरेको देखिन्छ ।

सम्वादाता | २०७९ जेठ १० गते १२: ४५ मा प्रकाशित

वीरगन्ज– औपचारिक घोषणा नहुँदै वीरगन्ज महानगरको मेयरमा विजयी सुनिश्चित भइसकेपछि सोमबार अपराह्न ५ दलीय गठबन्धनका उम्मेदवार राजेशमान सिंहका समर्थकहरुले उनको तस्बिरमा ‘श्रीपेच’ जोडेर सामाजिक सञ्जालमा फोटोहरु भाइरल गरे । त्यो थाहा पाएपछि सिंहले त्यसो नगर्न सबैमा सादर अनुरोध गरे । उनले आफ्नो फेसबुकमा लेखेका छन् – ‘खुशी साट्न केही साथी भाईहरले मेरो तस्बीरमा श्रीपेच लगाएत अन्य विषयवस्तु जोडेर सामाजिक सञ्जालमा तस्बिर राखेको पाइएको त्यसो नगर्न म सबैमा सादर अनुरोध गर्दछु ।’  सिंहको उक्त आह्वानले महानगरवासीले हुनेवाला (मेयर इन वेटिङ) मेयर जनताकै बीचमा रहेर काम गर्ने खालको रहेको बुझेका थिए ।

समर्थकले तस्बीरमा श्रीपेच लगाएर राजा बनाएपनि मेयरले त्यसो नगर्न आह्वान गरेपछि गठबन्धनका रहेका अन्य दलका नेता तथा कार्यकर्ताले सकारात्मक रुपमा लिएका थिए । तर, जब मंगलबार विहान जसपाका राजेशमान सिंह मेयरमा विजयी भएको औपचारिक घोषणा भयो तब सामाजिक सञ्जाल फेसबुकमा फेरि एउटा अर्को तस्बिर भाइरल भयो । मंगलबार विहानको तस्बिरमा सांसद प्रदीप यादवले नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुट लगाएर स्वागत तथा सम्मान गरिरहेका छन् । समर्थकले तस्बिरमा श्रीपेच लगाउँदा त्यसो नगर्न अपिल गर्ने मेयरले सांसदले चाँदीको मुकुट लगाउँदा सहजै स्वीकार गरेको देखिन्छ । ‘सायद करनी र कथनीमा फरक यसैलाई भनिन्छ,’ विहान मतगणनास्थलमा भेटिएका ५ दलीय गठबन्धनका एक नेताले भने, ‘जुन कि स्वभाविक नै हो ।’ 

प्रतिक्रिया दिनुहोस्