मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवको जमानत जफत

जसपाका उम्मेदवार दीपक यादवले कूल सदर मतको ५ प्रतिशत भन्दा पनि कम मत पाएका छन् ।

सम्वादाता | २०७९ जेठ ५ गते १८: १५ मा प्रकाशित

वीरगन्ज– मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीका स्वकीय सचिव (पीएं) दीपक यादवको जमानत जफत भएको छ । यादव पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिएका थिए । वैशाख ३० मा भएको निर्वाचनमा पटेर्वासुगौलीमा ११ हजार ४५३ मत खसेको थियो । मतगणनाको क्रममा कूल खसेको मत मध्ये २२५ बदर भएका थियो भने ११ हजार २२८ मत सदर भएका थिए । कानुनत उम्मेदवारले जमानत जोगाउन सदर मतको १० प्रतिशत मत ल्याउनु पर्ने हुन्छ ।
पटेर्वासुगौलीका निर्वाचन अधिकृतका अनुसार जसपाका दीपक यादवले ४ सय ६९ मत मात्र पाएका छन् । पटेर्वासुगौलीका उम्मेदवारले जमानत जफत हुन नदिन ११ हजार २२८ मतको १० प्रतिशत भनेको ११ सय २२ मत ल्याउने पर्ने हुन्छ । तर, जसपाका उम्मेदवार दीपक यादवले कूल सदर मतको ५ प्रतिशत भन्दा पनि कम मत पाएका छन् । यादव भन्दा बढी मत मकै छापका लालबाबु महरले ल्याएका छन् । महरले ७२३ मत ल्याएका निर्वाचन कार्यालयले जानकारी दिएको छ । पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश चौधरीले ३ हजार ९४४ मत ल्याई निर्वाचित भएका छन् भने निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार हरिनारायण चौधरी पराजित भएका छन् । (साभार : इकान्तिपुर)

 

प्रतिक्रिया दिनुहोस्