कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाको क्षेत्रका अधिकांश पालिकामा कांग्रेस पराजित

नगरको विकास भन्दा पनि नेताको चाक्डी र भत्तीगानमै कार्यकाल बिताएकाले दुबैले लज्जास्पद पराजय भोग्नु परेको कार्यकर्ताले बताएका छन् ।

सम्वादाता | २०७९ जेठ ५ गते १५: ४२ मा प्रकाशित

वीरगन्ज– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाको निर्वाचन क्षेत्रमा पर्ने अधिकांश पालिकाहरुमा कांग्रेसका उम्मेदवार पराजित भएका छन् । उनको गृह गाउँपालिका बिन्दवासिनी होस् वा बहुदरमाई र पर्सागढी नगरपालिका त्यहाँको प्रमुखमा चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेसका उम्मेदवार प्रतिद्धन्द्धीसँग पराजित भएका छन् । ०७४ सालको निर्वाचनमा बहुदरमाई र पर्सागढी नगरपालिकामा कांग्रेसका उम्मेदवार मेयरमा विजयी भएका थिए भने विन्दवासिनी गाउँपालिकामा कांग्रेसका उम्मेदवार पराजित भएका थिए । बहुदरमाईका निवर्तमान मेयर नितेन्द्र साह यसपाली तेस्रो स्थानमा झरेका छन् ।

बिहीबार सम्पन्न भएको मतणगनाका अनुसार साहले ५५१६ मत ल्याएर तेस्रो भएका हुन् । बहुदरमाईमा जसपाका सिंगासन साह तेली ६००४ मत ल्याएर विजयी भएका छन् । एमालेका शिव पटेल दोस्रा भएका छन् । यसैगरि पर्सागढी नगरपालिकाका निवर्तमान मेयर कांग्रेसका लोकनारायण यादवलाई ४८२५ मतले एमालेका गोकर्ण पाठकले पराजित गरेका छन् । मेयरमा निर्वाचित पाठकले ७७२४ मत प्राप्त गरे भने यादवले २८९९ मतमै सिमित भए ।  यसपालीको निर्वाचनमा पराजित भएका बहुदरमाईका नितेन्द्र साह र पर्सागढीका लोकनारायण यादव केन्द्रीय सदस्य चौरसियाको निकट मान्निथे ।

दुबै मेयर दैनिक विहान वा साँझ वीरगन्ज वडा नम्बर ११ श्रीपुर स्थित चौरसिया निवासमा भेला हुन्थे । कांग्रेसी मेयरहरु ‘हाजिरी’ लगाउन आएको टिप्पणी गर्थे । नगरको विकास भन्दा पनि नेताको चाक्डी र भत्तीगानमै कार्यकाल बिताएकाले दुबैले लज्जास्पद पराजय भोग्नु परेको कार्यकर्ताले बताएका छन् । विन्दवासिनी गाउँपालिकामा यसपाली कांग्रेसबाट युवा उम्मेदवार विवेक चौरसियाले उम्मेदवारी दिएका थिए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमोद तिवरीले ६७३ मतले चौरसियालाई पराजित गरेका छन् । गुटगत राजनीतिमा बढी रमाउने, विपक्षीलाई नगन्ने प्रवृत्तिकै कारण उक्त क्षेत्रका पालिकाहरुमा कांग्रेस पराजित भएको स्थानीयको बुझाई छ । 

प्रतिक्रिया दिनुहोस्