जगरनाथपुरमा हार्ने ‘निश्चित’ भएपछि जालिमले गरे बहिष्कार

जालिमको ३ नम्बर वडामा ११०० मत गणना हुँदा कांग्रेसका उम्मेदवारले एमालेभन्दा तीन सय मत बढी पाएका छन् ।

सम्वादाता | २०७९ जेठ ४ गते ११: ४२ मा प्रकाशित

वीरगन्ज– मतगणनाको चौथौँ दिन हार्ने ‘निश्चित’ भएपछि जगरनाथपुर गाउँपालिकाका निवर्तमान प्रमुख जालिम मियाँ नेतृत्वको समूहले मतगणना बहिष्कार गरेको छ । मंगलबार अपराह्न देखि जगरनाथपुर गाउँपालिकाको मतगणना स्थगीत छ । ४ महिना अगाडि मात्र माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका जालिम यसपालीको गाउँपालिका प्रमुखमा आफ्ना भाई सलिम मन्सुरलाई एमालेबाट उम्मेदवार बनाएका छन् । ६ वटा वडा रहेको गाउँपालिकाको वडा नम्बर एक र दुईको मतगणना सम्पन्न भइसकेको छ । एकमा कांग्रेसका लक्ष्मी साह तेली र दुई नम्बर वडामा पनि कांग्रेसकै नेपाली कुशवाहा निर्वाचित भइसकेका छन् ।

जालिमको समूहले बुधबार वीरगन्जमा पत्रकार सम्मेलन गरी मतगणना हुँदा कांग्रेसको चिन्हमा मात्र मोहर लगाएको भेटिएको जनाएका छन् । ‘एउटै तरिकाले ३ सय मतपत्रमा भोट खसालिएको छ,’ उनले भने, ‘५० भन्दा बढी मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नै छैन् ।’ पञ्चायतकाल देखि नै जगरनाथपुर क्षेत्रमा ‘दबदबा’ कायम गरेका जालिमले यसपाली निर्वाचनमा सुरुको दुईवटा वडामा पछाडि परेपनि वडा नम्बर तीन जुन उनको वडा हो त्यहाँको गणनामा कांग्रेस र जसपाका उम्मेदवारको तुलनामा अगाडि आउने विश्वस्त थिए । तर, जब उनकै वडाको आधा मतगणना सम्पन्न हुँदा कांग्रेसका उम्मेदवार श्रीकान्त यादवले ३ सयको लिड लिएपछि निर्वाचनमा धाँधलीको आरोप लगाउँदै मतगणना नै बहिष्कार गरेका हुन् ।

जालिमको ३ नम्बर वडामा ११०० मत गणना हुँदा कांग्रेसका उम्मेदवारले एमालेभन्दा तीन सय मत बढी पाएका छन् ।  जसपाबाट अध्यक्षका उम्मेदवार कृष्णमोहन यादवको वडामा समेत यसपाली कांग्रेस निर्वाचित भएको छ । कृष्णमोहनको वडा नम्बर २ मा कांग्रेसका नेपाली कुशवाहा विजयी भएका हुन् । जानकारका अनुसार जसपा र एमालेकै उम्मेदवारको गाउँमा कांग्रेसले लिड लिएपछि यसपछि गणना हुने वडाहरु कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल र जिल्ला सभापति जर्नादन सिंह क्षेत्रीको गाउँहरु पर्छन् । ‘गणना हुन बाँकी रहेका वडामा झन कांग्रेसको मत बढ्ने पक्का पक्की छ,’ जगरनाथपुरका जहिर मियाँ भन्छन्, ‘हार्ने निश्चित भएपछि जालिहरु बौखलाएका छन् ।’ हालसम्मको गणनामा कांग्रेसका श्रीकान्त यादवले १८२५ मत, जसपाका कृष्णमोहन यादवले १७२५ मत र एमालेका मन्सुरले १३३५ मत प्राप्त गरेका छन् । जगरनाथपुर गाउँपालिकाका निर्वाचन अधिकृत चिन्तामणी शर्माले निर्वाचन आयोगको निर्देशन पर्खेर बसेको बताए । 

प्रतिक्रिया दिनुहोस्