तारजाली हालेर निर्माण गरियो वीरगन्ज महानगरको मतगणनास्थल

सम्वादाता | २०७९ बैशाख २९ गते ००: ०० मा प्रकाशित

वीरगन्ज, २९ बैशाख – बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मतगणनाका लागि वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरामठ स्थित नृसिंह प्राविधिक विद्यालयमा मतगणना स्थल तयारी गरिएको छ ।  मतगणना गरिने कोठाहरुमा काठको पल्लामा जाली हालेर तोडफोड गर्न नसक्ने गरि बनाईएको वीरगन्ज महानगरपालिकाल जनाएको छ । नृसिंह माध्यामिक विद्यालयको चार वटा कोठा मतगणनाको लागि तयार गरिएको छ । तीन वटा कोठा भने मतपेटिका राख्ने गरी तयार गरिएको छ । मतगणना स्थलको कोठा वरिपरी तारजालीले घेरेर बनाईएको छ । 

चारवटा कोठाको वरिपरी तारजालीले बेरेर त्यसको बाहिरी भागमा उम्मेदवारका प्रतिनिधिहरु बस्ने व्यावस्था गरिएको छ । मतगणना शुरु भएपछि बाहिरी भागमा बसेका उम्मेदवारका प्रतिनिधिहरुलाई मतगणना गरिएको मतपत्र देखाएर रुजु गरी सदर गर्ने गरी व्यावस्था मिलाईएको छ । मतगणना स्थलमा ८ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । निर्वाचन आयोगले तोकेको मापदण्ड अनुसारको २ मेगापिक्सेलको ८ च्यानल एमभीआर भएको सीसीटीभी क्यामेरा जडान गरिएको वीरगन्ज महानगरपालिकाका सूचना प्रविधि विकास शाखाका प्रमुख इञ्जिनियर गौरव लामिछानेले जानकारी दिए । निर्वाचन आयोगको पत्र अनुसार मतगणना स्थलको व्यवस्थापन वीरगन्ज महानगरपालिकाले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्