सुरक्षाको दृष्टिकोणले पर्साका मतदान केन्द्र तीन तहको वर्गीकरण

भारतीय सीमासाग जोडिएका केही मतदानस्थल अति संवेदनशील रहेको भन्दै त्यहाँ विशेष तालिमप्राप्त सुरक्षाकर्मीलाई खटाइएको हो । 

सम्वादाता | २०७९ बैशाख २९ गते १०: ०६ मा प्रकाशित

पर्सा– जिल्ला निर्वाचन कार्यालय पर्साले मतदान केन्द्रलाई सुरक्षा संवेदनशीलताको दृष्टिकोणले तीन तहमा वर्गीकरण गरेको छ । जिल्ला निर्वाचन प्रमुख रंजिता झाले मतदान केन्द्रलाई सुरक्षा संवेदनशीलताका दृष्टिकोणले ३ तहमा वर्गीकरण गरिएको जनाइन् । उनका अनुसार मतदान केन्द्रमा पर्खाल नभएकालाई अति संवेदनशीलमा राखिएको छ । संवेदनशील मतदानस्थलको विवरण प्रशासनसँग रहेको उनले बताइन् । प्रमुख जिल्ला अधिकारी उमेश ढकालले सुरक्षाका दृष्टिकोणका कारण संवेदनशील मतदान केन्द्रको विवरण मिडियामा दिन नमिल्ने बताए । ‘सबै मतदान केन्द्रको हामीले वर्णीकरण गरेका छौं,’ उनले भने, ‘सुरक्षाको दृष्टिकोणले बाहिर भन्न मिल्दैन ।’ 

एक महानगरपालिका र तीनवटा नगरपालिकासहित १४ स्थानीय तह रहेको पर्सामा आसन्न निर्वाचनका लागि १ सय ६७ मतदानस्थल र ४ सय ४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार वीरगन्जमा सबैभन्दा बढी मतदान स्थल र मतदान केन्द्र राखिएका छन् । महानगरमा ५५ वटा मतदानस्थल र १ सय ४३ वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालय पर्साकी प्रमुख रञ्जिता झाले बताइन् । यसैगरी सबैभन्दा कम पकाहामैनपुर गाउँपालिकामा मतदानस्थल राखिएका छन् । पकाहामैनपुरमा ६ वटा मतदानस्थल र १५ वटा मतदान केन्द्र छन् । मधेस प्रदेशका अति संवेदनशील र संवेदनशील मतदान केन्द्रमा सुरक्षाकर्मीको विशेष निगरानी बढाइएको छ । भारतीय सीमासाग जोडिएका केही मतदानस्थल अति संवेदनशील रहेको भन्दै त्यहाँ विशेष तालिमप्राप्त सुरक्षाकर्मीलाई खटाइएको हो । 

 

 

प्रतिक्रिया दिनुहोस्