बेलवामा जसपाको शक्ति प्रदर्शन

ग्रामिण वडालाई सडकसञ्जालमार्फत महानगरसँग जोडिने र नगरबासीलाई परिवर्तनको प्रत्याभुती गराउने सिंहको प्रतिबद्धता छ ।

सम्वादाता | २०७९ बैशाख २५ गते १८: १६ मा प्रकाशित

वीरगञ्ज, २५ बैशाख– वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेलवाका बासिन्दाले गठबन्धनबाट मेयरका साझा उम्मेदवार राजेशमान सिंहको जित सुनिश्चित भएको बताएका छन् । पाँच दलीय गठबन्धनको मेयरको साझा उम्मेदवार सिंहले नै अब बेलवासहित अन्य ग्रामिण वडाका नागरिकको विश्वास पात्र भएको बेलवाका स्थानीय जयनारायण यादवको भनाई छ । बेलवामा सिंहको रोड शोमा सहभागीहरुले गत निर्वाचनमा पराजय भएर पनि विभिन्न आपत विपतमा जनताकै सेवामा समर्पित भएका सिँह नै महानगरको मेयरका लागि योग्य व्यक्ति भएको बताएका हुन् ।

रोड शोका क्रममा बेलवाका बासिन्दासँग कुराकानी गर्दै मेयरका उम्मेदवार सिंहले अब भ्रष्टाचारी र घुसखोरीको समय सकिएको बताए । वीरगञ्जबासीलाई झुठा आश्वासन दिएर मधेशी जनताको मतबाट पदमा पुगेर अहिले मतको अपमान गर्दै मधेशविरोधी पार्टीमा प्रवेश गरेका व्यक्तिलाई अब जनताले विश्वास नगर्ने सिंहको भनाई छ ।

ग्रामिण वडालाई सडकसञ्जालमार्फत महानगरसँग जोडिने र नगरबासीलाई परिवर्तनको प्रत्याभुती गराउने सिंहको प्रतिबद्धता छ । उनका अनुसार जनतालाई बिकासको आभाष दिलाएर प्रशासनिक कामलाई सहज, सरल र पारदर्शी बनाइने छ। त्यसैगरी कार्यक्रममा सहभागी प्रदेशसभा सदस्य जनत अन्सारीले महानगरको यस अघिका मेयरले विकास निर्माणको कुनै काम नगरेको र जनतालाई साढे ४ वर्षसम्म मुर्ख मात्र बनाएको आरोप लगाए । कार्यक्रममा जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्