बुधबार राति औराहामा गोली प्रहार गर्ने महतो पक्राउ

घरबाट भाग्ने क्रममा औराहा निवासी महतोलाई रातिनै प्रहरीले नियन्त्रणमा लिएको डिएसपी खनालले बताए ।

सम्वादाता | २०७९ बैशाख २३ गते १२: ३६ मा प्रकाशित


वीरगन्ज– पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. १ स्थित औराहा निवासी मंगलबहादुर भ्लोनको घर बाहिर गोली पड्काउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बुधबार राति ९ बजेर २० मिनेटको समयमा भ्लोनको घरबाहिर गोली प्रहार भएको थियो । पर्सा प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार बाँसको टाटीमा माटोले लिपेको बेरा भएको भ्लोनको घरको पश्चिमपट्टिको बेराबाट गोली प्रवेश गरि घरभित्र रहेको चामलको बोराभित्र एक राउण्ड गोली फेला परेको थियो ।
प्रहरीको अनुसन्धानको क्रममा औराहा निवासी २७ वर्षीय सल्टु महतोको संलग्नता रहेको खुल्न आएको थियो । घरबाट भाग्ने क्रममा औराहा निवासी महतोलाई रातिनै प्रहरीले नियन्त्रणमा लिएको डिएसपी खनालले बताए । महतोले घरनजिकै खाली जमिनमा रहेको नालामा लुकाईछिपाई राखेको १२ बोरको एक नाले घरेलु बन्दुक बरामद भएको छ । महतोलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जनाए ।

प्रतिक्रिया दिनुहोस्