सांसद प्रदीप यादवलाई आफ्नै गाउँमा झट्का

मनियारीका पूर्व गाविस उपाध्यक्ष एमालेमा प्रवेश

सम्वादाता | २०७९ बैशाख २२ गते १५: ५२ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीका प्रभावशाली नेताहरुले बिहीबार जनता समाजवादी पार्टी (जसपा) परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । मनियारी, पर्सा क्षेत्र नं. १ का सांसद तथा जसपाका प्रभावशाली नेता प्रदीप यादवको गाउँ हो । मनियारीका पूर्व गाविस उपाध्यक्ष जसपाका नेता बिरेन्द्र यादव, दरोगा तुरहा, कृष्ण यादव, नथुनी साह, जितेन्द्र यादव र माओवादीका जिल्ला कमिटी सदस्य हरेन्द्र यादव लगायतका प्रभावशाली नेताहरु बिहीबार एमालेमा प्रवेश गरेका हुन् । 

सभासद विचारी यादव, एमालेबाट वीरगन्ज महानगरपालिकाका मेयर उम्मेदवार विजयी सरावगीले अबिर र माला लगाई नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए । यस अघि वडा नम्बर २२ का निवर्तमान वडाध्यक्ष ग्यासुद्दिन मियाँले जसपा परित्याग गरि एमालेबाट टिकट लिएर वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । सांसद यादवको गाउँ रहेको वडा नम्बर २२ का निवर्तमान वडाध्यक्ष, पूर्व गाविस उपाध्यक्ष बिरेन्द्र यादव, दरोगा तुरहाको जसपा परित्यागले एमालेलाई ग्रामीण क्षेत्रमा अझ सशक्त बनाएको टिप्पणी हुन थालेको छ । 

प्रतिक्रिया दिनुहोस्