जीतपुर सिमरा उपमहानगरपालिकामा कांग्रेसबाट ४ जना आकांक्षी

जीतपुर सिमरा उपमहानगरपालिकामा कांग्रेसबाट ४ जना आकांक्षी

सम्वादाता | २०७९ बैशाख २ गते १८: १६ मा प्रकाशित

सिमरा– स्थानीय तहको निर्वाचनका लागि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुखका लागि नेपाली काँग्रेसभित्रै चार जना नेताहरु आकांक्षी देखिएका छन् । पार्टीले उम्मेदवार चयन नगर्दै उनीहरुले खुलेर उपमहानगर प्रमुख पदमा आफ्नो दाबी तथा प्रसारप्रसार सुरु पनि गरिसकेका छन्  । नेपाली काँग्रेसबाट अघिल्लो निर्वाचनमा नगरप्रमुखका उम्मेदवार कृष्णब्रत सिंह, उपप्रमुखकी उम्मेदवार निरु रायमाझी, निवर्तमान नगरसभापति श्यामबाबु गुप्ता र प्रदेशसभा सदस्यमा बारा क्षेत्र नंम्बर ४ (क) को उम्मेदवार ओमकृष्ण कार्कीले  नगरप्रमुखमा दाबी गर्नु भएको हो । चारै जना आकांकीहरुले टिकटका लागि वडादेखि केन्द्रसम्म दौडधुप सुरु गरेका छन् । काँग्रेसले २०७४ को निर्वाचनमा जीतपुरसिमरा उपमहानगरको प्रमुख पदमा दोस्रो मत पाएको थियो । १६ जना उम्मेदवारमध्ये काँग्रेसका कृष्णब्रत सिंहले ११ हजार ९९५ मत ल्याउनु भएको थियो । नगरप्रमुखमा नेकपा एमालेबाट  विजयी कृष्ण पौडेलले १४ हजार ८ सय ६५ मत  र  तेश्रो स्थानमा रहेर पराजित हुनु भएका माओवादी केन्द्रका राजन पौडेलले ११ हजार २ सय ५१ मत प्राप्त गर्नु भएको थियो ।बिगतको निर्वाचनमा प्रमुख  र उपप्रमुख दुवै पदमा दोस्रो स्थान पाएको आधारमा जीतपुरसिमरामा सत्तारुढ गठबन्धनबाट काँग्रेसले नगरप्रमुख लिने र माओवादी केन्द्रलाई उपप्रमुख दिएर अगाडि बढ्ने काँग्रेसका स्थानीय नेताहरुले बताएका छन् । नगरप्रमुखमा काँग्रेसका आकांक्षीहरुले त्यहि अनुसार प्रचारप्रसारसमेत थालेका हुन् । तर २०७४ को निर्वाचन अनुसार वडागत संरचनामा २४ वटा वडामध्ये सबैभन्दा धेरै १० वटा वडामा माओवादी केन्द्र, ५ वटा वडामा नेपाली काँग्रेस, ७ वटा वडामा नेकपा एमाले र २ वटा वडामा तत्कालीन राजपा नेपालले जितेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्