जगदम्बा इन्टरप्राइजेजको स्टिल व्यापार साढे १५ अर्ब हुँदा १५ अर्ब ८० करोड ऋण

उद्योगको सञ्चालकमा अनिलकुमार रुंगटा र विशाल पटवारी हुन् । सञ्चालकहरु सिमेन्ट, निर्माण सामाग्रीको व्यापार र पर्यटन व्यवसायमा संलग्न छन् ।

सम्वादाता | २०८० सावन २९ गते १४: ३१ मा प्रकाशित

वीरगन्ज– निजी लगानीमा स्थापना भएको जगदम्बा इन्टरप्राइजेज प्रालिको व्यापार १०.२३ प्रतिशत बढेको छ । उद्योगले एक वर्षमा १५ अर्ब ४६ करोड १० लाख रुपैयाँको स्टिल व्यापार गरेको छ । सन् २०२१ मा उद्योगले १४ अर्ब २ करोड र २०२० मा १४ अर्ब ९८ करोड रुपैयाँको व्यापार गरेको सार्वजनिक भएको वित्तीय विवरणमा उल्लेख छ । उद्योगको कारोबार बढे पनि मार्जिन भने घटेर ३.१९ प्रतिशत कायम भएको छ। २०२१ मा उद्योगको मार्जिन १०.७८ प्रतिशत थियो । जगदम्बाले १५ अर्ब ८० करोड ६६ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

उद्योगले २०२२ मा स्टिल मेल्टिङ सप र २०२३ जुनदेखि हट स्ट्रिप मिल प्लान्ट सञ्चालनमा ल्याएको छ। दुई नयाँ प्लान्ट स्थापना गर्न जगदम्बाले २ अर्ब २४ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ । कूल लगानी मध्ये ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत स्वपुँजी ९इक्विटी० लगानी रहेको छ । नयाँ मेल्टिङ प्लान्ट स्थापना भएपछि उद्योगले टिएमटी बार र अन्य स्टिल उत्पादनका लागि आवश्यक बिलेट आयात निर्भरता हट्ने अपेक्षा गरिएको छ ।

उद्योगले विभिन्न आकारका स्टिलको उत्पादन गर्दछ। जसमा टीएमटी बार र एमएस ब्ल्याक पाइप समावेश छन्। उद्योगले जगदम्बा र जगशक्ति ब्रान्डमा विभिन्न स्टिलजन्य उत्पादहरु बजारमा ल्याएको छ । पाइप, हटरोल्ड स्ट्रिप, सटर प्रोफाइल, शटर गाइड, शटर स्प्रिङ, लकप्लेट, प्रिफेब्रिकेटेड बिल्डिङ कम्पोनेन्ट र विभिन्न स्टिल पोलहरू निर्माण गर्दै आएको छ ।

जगदम्बा इन्टरप्राइजेज सन् २००१ मा स्थापना भएको उद्योग हो । एमएस ब्ल्याक एन्ड ग्लाभ्नाइज्ड पाइप उत्पादन गर्दै आएको छ । उद्योग सञ्चालनमा आएको दुई दशक भएको छ । उद्योगको उत्पादन क्षमता वार्षिक ९ लाख २० हजार ६ सय टन छ । उद्योग वीरगञ्जस्थित सुक्खा बन्दरगाहबाट १५ किलोमिटर दुरी बाराको जितपूरमा छ । उद्योगको सञ्चालकमा अनिलकुमार रुंगटा र विशाल पटवारी हुन् । सञ्चालकहरु सिमेन्ट, निर्माण सामाग्रीको व्यापार र पर्यटन व्यवसायमा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्