श्रृजनशील लघुवित्तको आईपीओ खुल्यो

न्यूनतम १० कित्तादेखि अधिकतम् १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने

सम्वादाता | २०७९ भदौ १६ गते ०८: २९ मा प्रकाशित

काठमाडौं - श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ भदौ बुधबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

लघुवित्तले हाल कायम जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत सार्वजनिक निष्कासन खुला गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने अनुमति पाएको हो ।
अनुमति पाएकोमध्ये कुल सार्वजनिक निष्कासन हुने सेयरमध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउँने ५४७० कित्ता कर्मचारीहरूका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये पाँच प्रतिशत अर्थात् १९ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरेको छ ।

बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम् १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीको प्रकाशित आह्वानपत्रमा उल्लेख छ ।
आईपीओमा छिटोमा १९ भदौ र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन दिने अवधि २९ भदौसम्म थप हुनेछ ।
कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङस् नेपालले लघुवित्तलाई ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ ।
यसले कम्पनीको लगानी समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । आर्थिक वर्ष २०७७/७८ मा ६ करोड ५७ लाख ४० हजार सञ्चित नाफामा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्