'मिटरब्याजी' धमाधम पक्राउ पर्दै , महोत्तरीका अनिरुद्ध साह प्रहरी नियन्त्रणमा

१२ गुनासम्मको तमसुक बनाउने, साँवाको ब्याजको स्याजसमेत असुल गर्ने कार्यमा लामो समयदेखि संलग्न रहेको प्रहरीले जनाएको छ ।  

सम्वादाता | २०७९ भदौ ५ गते १२: १६ मा प्रकाशित

महोत्तरी - चर्को ब्याजदरमा ऋण लगानी गरि उठिवास गराएको आरोपमा महोत्तरी प्रहरीले एकजना मिटरब्याजीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्नेमा भंगहा नगरपालिका- ५ सिद्धपुर घर भएका अनिरुद्ध साह हुन् ।

प्रहरीका अनुसार साहले चर्को ब्याजदरमा ऋण लगानी गर्दै आएको र ठगि जालसाजी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो।

महोत्तरी प्रहरीले मिटरब्याजी साहलाई घरबाटै नियन्त्रणमा लिएको छ । शनिबार राति भंगहा नगरपालिका- ५ सिद्धपुर घर भएका साहलाई प्रहरीको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेको साहमाथि ठगि मुद्धा चलाउने तयारी भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।
साह लामो समयदेखि यस्ता कार्यमा संलग्न रहेको प्रहरी उपरीक्षक पंगेनीले बताए ।

महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म व्यक्तिलाई ऋण लगानी गर्ने साहले गरिब तथा विपन्न परिवारलाई परेको अप्ठ्यारोको मौका छोपेर चर्को ब्याजमा अर्थात् १२ गुनासम्मको तमसुक बनाउने, साँवाको ब्याजको स्याजसमेत असुल गर्ने र कानुनी प्रक्रियाबाट सम्पति हड्पने कार्यमा लामो समयदेखि संलग्न रहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्