वीरगञ्जका उद्यमी ११ दिनदेखि प्रहरी हिरासतमा, कानून व्यवसायी भन्छन्– प्रशासनले तामेलीमा राखेको मुद्दामा प्रहरीले पक्रियो

तामेलीमा राखिएको मुद्दामा नयाँ प्रमाण फेला परे मात्रै फेरि अनुसन्धान गर्न पाइनेमा प्रहरीले पुरानै विषयमा छानबिन गरिरहेको कानून व्यवसायीको भनाइ छ ।

सम्वादाता | २०८१ सावन २७ गते १७: ३६ मा प्रकाशित

वीरगन्ज–झूठो विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा वीरगञ्जका एक उद्यमीलाई जिल्ला प्रहरी कार्यालय, पर्साले ११ दिनदेखि थुनामा राखेको छ । जिल्ला प्रहरी कार्यालय, पर्सामा ५ वर्षअघि परेको जाहेरीका आधारमा प्रहरीले अहिले उद्यमी निरञ्जन अग्रवाललाई पक्राउ गरेर हिरासतमा राखेको हो ।
सम्बन्धित निकायबाट फाइल झिकाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुमुद ढुंगेलले बताए । पर्सा जिल्ला अदालतले ३र३ दिनका दरले चार पटक म्याद थपिसकेको ढुंगेलले जानकारी दिए । अग्रवालविरुद्ध २०७६ सालमा प्रहरी कार्यालयमा जाहेरी परेको उनले बताए । उद्योगी अग्रवालका कानून व्यवसायीले भने विगतमा तीन पटक पर्सा जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गरी झुठो विवरणको प्रमाण फेला पार्न नसकेपछि मुद्दा तामेलीमा राखेको बताएका छन् । तामेलीमा राखिएको मुद्दामा नयाँ प्रमाण फेला परे मात्रै फेरि अनुसन्धान गर्न पाइनेमा प्रहरीले पुरानै विषयमा छानबिन गरिरहेको कानून व्यवसायीको भनाइ छ ।
स्थानीय नरेश ठाकुरले ५ वर्षअघि दिएको जाहेरीको फाइल खोलेर प्रहरीले पर्सा जिल्ला अदालतबाट पक्राउ आदेश लिएको हो । अग्रवालले जन्मका आधारमा २०६३ सालमा नेपाली नागरिकता लिएका थिए । उनले २०५१ सालमा आफू भारतीय भएको उल्लेख गरी सवारी चालक अनुमतिपत्र लिएको भन्दै ठाकुरले जाहेरी दिएका थिए ।
जिल्ला प्रशासन कार्यालय, पर्साले विगतमा सोही दाबीमा परेको जाहेरीमा कुनै आधार प्रमाण फेला नपरेको भन्दै मुद्दा तामेलीमा राखेको देखिन्छ । त्यतिबेला जिल्ला प्रहरी कार्यालय पर्सा, यातायात व्यवस्था कार्यालय, परराष्ट्र मन्त्रालय र भारतीय महावाणिज्य दूतावासमार्फत पत्राचार गरी अनुसन्धान गरिएको थियो । त्यसबेला अग्रवाल भारतीय भएको कुनै आधार प्रमाण फेला नपरेको भन्दै प्रशासनले तामेलीमा राखेको थियो ।
जिल्ला प्रहरी कार्यालय, पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक भारतीले जिल्ला प्रशासनबाट भएको आदेश र अनुसन्धानका क्रममा जिल्ला प्रहरीबाट गएको पत्रबारे जानकारी नभएको बताएका छन् । ‘हामीकहाँ आएको जाहेरीको आधारमा अनुसन्धान भइरहेको छ । अदालतबाट आदेश लिएर पक्राउ गरिएको हो । अदालतबाटै म्याद थपेर हिरासतमा राखिएको छ,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय पर्साले मिति २०७१र७र१६ मा च। नं। ३८१२ को पत्रमार्फत अग्रवाल भारतीय भएको प्रमाण फेला नपरेको जानकारी पठाएको प्रशासनको आदेशमा उल्लेख छ ।
उद्यमी थुनामा रहेको घटनाका बारेमा वीरगञ्जका उद्यमी व्यापारीका संस्थाहरू बेखबरजस्तै छन् । अग्रवाल पक्राउ परेको करीब २ हप्तापछि वीरगञ्ज उद्योग वाणिज्य संघले घटनाबारे चासो राखेको छ । ‘हामीले पनि सञ्चारमाध्यमबाटै थाहा पायौं । डीआईजी साहब ९मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक यज्ञविनोद पोखरेल०लाई यसबारेमा ध्यानाकर्षण गराएका छौं,’ वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले भने । डीआईजी पोखरेल वीरगञ्ज आएको मौका पारेर शनिवार उद्यमीले भेटेका थिए । साभार- अभियान दैनिक

 

 

प्रतिक्रिया दिनुहोस्