होटल सुरज र भिस्वामा सञ्चालनमा रहेका क्यासिनो बन्द हुने

पर्यटन विभागको आन्तरिक प्रशासन तथा होटल शाखाका निर्देशक काली बहादुर भुजेलले नेपाल सरकारले गत चैत ३० मा राजमत्रमा प्रकाशित गरेको ऐनले क्यासिनो सञ्चालन कडाईमा कुनैपनि समस्या नरहेको बताए ।

सम्वादाता | २०८१ बैशाख ८ गते १८: ४८ मा प्रकाशित

वीरगन्ज– क्यासिनो सञ्चालनको इजाजतपत्र प्राप्त कम्पनीले अब एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न नपाउने भएका छन् । नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको संशोधित पर्यटन ऐनमा एउटा कम्पनीले एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न नपाउने प्रावधान राखिएको छ । 

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट प्रमाणिकरणपछि नेपाल सरकारले २०८० चैत ३० मा राजपत्रमा प्रकाशित गरेको हो । संशोधित पर्यटन ऐनमा क्यासिनो सञ्चालनमा कडाई गरिएको छ । प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणाकिरण गरेका हुन् । ‘यो ऐन प्रारम्भ हुदाको बखत कुनै कम्पनीले एकभन्दा बढी क्यासिनो सञ्चालन गरेको रहेछ भने २०८२ असार मसान्तभित्र सो कम्पनीले रोजेको कुनै एक क्यासिनो मात्र सञ्चालन गर्न सक्नेछ, संशोधित ऐनमा लेखिएको छ । 

पर्यटन विभागको आन्तरिक प्रशासन तथा होटल शाखाका निर्देशक काली बहादुर भुजेलले नेपाल सरकारले गत चैत ३० मा राजमत्रमा प्रकाशित गरेको ऐनले क्यासिनो सञ्चालन कडाईमा कुनैपनि समस्या नरहेको बताए । उनले अहिले विभिन्न ठाउमा एउटा इजाजतपत्रले एकभन्दा बढी क्यासिनो सञ्चालन गरेको भए २०८२ असार मसान्तभित्र रोजेको कुनै एउटा क्यासिनो चलाउन दिइने ऐनमा प्रावधान भएपछि क्यासिनो सञ्चालकहरुले पनि यसमा सहमत भएको खुलाए ।

‘समय सिमा भित्र क्यासिनो सञ्चालकले एउटा लाईसेन्समा एउटा क्यासिनो सञ्चालन गर्न तयार छन्,’ पर्यटन विभागका प्रवक्ता समेत रहेका भुजेलले भने, ‘यो कार्यान्वयनमा अहिले कुनैपनि दुविधा छैन् ।’ ऐनमा केही जटिलता भएको खण्डमा नियमावली बनाएर अगाडि बढ्ने सम्बन्धमा छलफल भएको उनले जनाए ।  

वीरगन्ज महानगरपालिकामा हाल ४ वटा क्यासिनो सञ्चालनमा रहेका छन् । सुरज होटलमा फरचुन सिटी गेमिङ क्लब, होटल भिस्वामा सेन्ट्रल मिडिया गेमिङ क्लब, लर्डस दियालोमा किंग्स क्यासिनो र क्लार्क रिर्सोट गोल्डेन फिंगर क्यासिनो सञ्चालनमा रहेका छन् ।  सरकारको राजपत्रमा प्रकाशित ऐनमा अब एउटा कम्पनीले एउटा मात्र क्यासिनो सञ्चालन गर्न पाइने प्रावधान राखिएकाले ऐनले दिएको समयावधि भित्र सुरज र भिस्वा होटलमा सञ्चालित क्यासिनो बन्द हुने भएका छन् ।

सुरज होटलमा सञ्चालित फरचुन सिटी गेमिङ क्लबका सञ्चालकले हाल चार वटा सहरमा एउटै इजाजतपत्रले चारवटा क्यासिनो सञ्चालन गरिरहेका छन् । वीरगन्ज लगायत धनगढी, भैरहवा र झापामा फरचुन सिटीको एउटै लाइसेन्सले क्यासिनो सञ्चालनमा रहेका छन् ।  राजपत्रमा प्रकाशित ऐनमा चार तारा वा सोभन्दा माथिल्लो स्तरको होटल वा रिर्सोटमा मात्र क्यासिनो सञ्चालन गर्न पाइने प्रावधान राखिएको छ ।

वीरगन्जको होटल सुरज तीन तारा होटल पनि होइन् न त भविष्यमा होटलको पूर्वाधारमा स्तरोन्नति हुने सम्भावना नै छ ।  यसैगरि होटल भिस्वामा सञ्चालनमा रहेको सेन्ट्रल मिडिया गेमिङ क्लबका सञ्चालकले एउटै इजाजत पत्रले काठमाडौंको प्लाटिनम होटल, महेन्द्रनगरको ओपेरा र भैरहवाको ड्रिम ल्यान्ड होटलमा क्यासिनो चलाउंदै आएका छन् । जसमध्ये काठमाडौको प्लाटिनम मात्र चार तारा होटल हो । वीरगन्जमा सेन्ट्रल मिडिया गेमिङ क्लब सञ्चालनमा रहेको होटल भिस्वा भने तीन तारा होटल हो । 

वीरगन्जको लर्डस दियालो होटल र क्लार्क रिसोर्ट होटल मात्र चार तारा स्तरका होटल हुन् र दुबै होटलमा सञ्चालित क्यासिनोका सञ्चालकले एउटा इजाजतपत्रले एउटा मात्र कम्पनी (क्यासिनो) सञ्चालनमा ल्याएका छन् । त्यसकारण अबको १५ महिना भित्र अर्थात अगामि २०८२ साल असार मसान्तभित्र होटल सुरज र भिस्वामा सञ्चालित क्यासिनो संशोधित ऐन बमोजिम अवैध मानिने छन् । 

कम्पनीले सञ्चालनका लागि रोजेको क्यासिनो बाहेक सञ्चालनमा रहेका अन्य क्यासिनो सञ्चालन गर्न चाहेमा क्यासिनो सञ्चालनमा राखी २०८५ चैत मसान्तभित्र अलग अलग कम्पनी स्थापना गरी ऐन बमोजिम इजाजतपत्र लिनुपर्ने छ । त्यसका लागि ऐन बमोजिम चार तारा वा सोभन्दा माथि स्तरको होटल र अन्तर्राष्ट्रिय सिमानाबाट ५ किलोमिटरको दूरि हुुनुपर्ने छ । नया प्रावधान अनुसार नयां दर्ता हुने क्यासिनो कम्पनी अन्तर्राष्ट्रिय सिमानाबाट कम्तीमा ५ किलोमिटर दूरीमा हुनुपर्ने व्यवस्था गरेको छ । यसअघि तीन किलोमिटर कायम गरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्