चर्चामा नआएको वीरगन्जको केयाल ग्रुपका पाँच उद्योगको कारोबार साढे १९ अर्ब

ग्रुपका अधिकांश उत्पादन सरोकार वीरगन्ज र वरपरका छन् । समूहको व्यावसायिक सुरुवात सय वर्षभन्दा पुरानो हो ।

सम्वादाता | २०८० भदौ ३० गते १२: ४४ मा प्रकाशित

वीरगन्ज– काठमाडौं। व्यवसायिक घरना केयाल ग्रुपले सञ्चालन गरिरहेको पाँच उद्योगको मात्रै व्यापार साढे १९ अर्ब रुपैयाँबराबर छ । ग्रुपको नारायणी रोलिङ मिल्स, नारायणी इस्पात, श्रीकृष्ण स्टिल, नारायणी स्ट्रिप्स र नारायणी स्टिल गरी पाँच उद्योगले मात्रै एक वर्षमा १९ अर्ब ३१ करोड रुपैयाँबराबर कारोबार गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
अघिल्लो वर्ष ती पाँच उद्योगले १५ अर्ब ९८ करोड ९० लाख रुपैयाँ कारोबार गरेका थिए। एक वर्षमा पाँच उद्योगको व्यापार ३ अर्ब ३२ करोड रुपैयाँ बढेको छ। नारायणी इस्पातको व्यापार दोब्बर बढेको छ ।
तर, वित्तीय विवरण प्राप्त भएका पाँचमध्ये सबैभन्दा बढी कारोबार गर्नेमा नारायणी इस्पात छ । नारायणी इस्पातले २०२२ मा ९ अर्ब २९ करोड ३० लाख रुपैयाँको जस्तापाता व्यापार गरेको छ । सबैभन्दा कम कारोबार श्रीकृष्ण स्टिल उद्योगको छ। श्रीकृष्णले १ अर्ब ४१ करोड ४८ लाख रुपैयाँको स्टिल कारोबार गरेको छ ।
नारायणी रोलिङ मिल्सको ३ अर्ब ४४ करोड, नारायणी स्ट्रिप ३ अर्ब ६४ करोड ८० लाख र नारायणी स्टिलले १ अर्ब ६० करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ।
यसबाहेक ग्रुपका खाद्यान्न र व्यापार कम्पनी पनि सञ्चालनमा छन्। ग्रुपका एक दर्जन व्यवसाय सञ्चालनमा छन्। ग्रुपको १० उत्पादन तथा प्रशोधन उद्योग छन् भने एक व्यापार र एक जीवन बिमा कम्पनीमा लगानी छ ।
ग्रुपअन्तर्गत गोरखा वायर इन्डस्ट्रिज, स्टार सिमेन्ट, उद्योग, एसिसी ब्लक इन्डस्ट्रिज, गोरखा फिड इन्डस्ट्रिज, नारायणी फुड प्रडक्ट प्रालि सञ्चालनमा छन् ।
यस्तै ग्रुपको व्यापार कम्पनी बिक्की हार्डवेयर हाउस सञ्चालनमा छ । तर, यी उद्योगको रेटिङ्ग नभएकाले वित्तीय विवरण बाहिर आएको छैन। ग्रुपको लगानीमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सञ्चालनमा छ ।
झन्डै १५ अर्ब ऋण
साढे १९ अर्ब रुपैयाँहाराहारी कारोबार गरिरहेको केयालका पाँच उद्योगको मात्रै १४ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ ऋण छ ।
ग्रुपले पाँच उद्योगको ऋण रेटिङ गराएको छ । ग्रुपको सबैभन्दा बढी ऋण नारायणी इस्पातको छ। नारायणी इस्पातले ५ अर्ब ४ करोड २८ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ। नारायणी रोलिङको १ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ ऋणको रेटिङ भएको छ ।
यस्तै श्रीकृष्ण स्टिलको १ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ छ । नारायणी स्ट्रिप्सको ५ अर्ब ७ करोड र नारायणी स्टिलको १ अर्ब ३६ करोड ९५ लाख रुपैयाँ ऋण छ ।

ग्रुप अध्यक्ष सत्यनारायण केयाल

यसरी जन्मियो केयाल ग्रुप

केयाल ग्रुप वीरगन्जमा रहेको पारिवारिक व्यवसाय हो । ग्रुपका अधिकांश उत्पादन सरोकार वीरगन्ज र वरपरका छन् । समूहको व्यावसायिक सुरुवात सय वर्षभन्दा पुरानो हो । ग्रुपका अध्यक्ष सत्यनारायण केयालका हजुरबुबा गौरीशंकर केयालले व्यवसाय सुरु गरेका थिए । पहिला गजानन्द बालमुकुन्द नामक सानो कपडा व्यापार थियो ।

पछि व्यवसाय विस्तार हुँदै गयो । वर्तमान अध्यक्ष सत्यनारायण केयाल सन् १९८६ मा पारिवारिक व्यवसायमा आबद्ध हुँदा उनले उत्पादन क्षेत्रमा चासो देखाएका थिए। उनले उत्पादन क्षेत्रमा लगानी विस्तार गर्ने साहसी कदम चालेका थिए । यो नै महत्वपूर्ण परिवर्तन थियो। केयाल ग्रुप बाहिर त्यति चर्चामा नआए पनि ग्रुपले व्यवसाय विस्तारका साथै बलियो पनि हुँदै गएको छ ।
हालका वर्षमा समूहले आफ्नो पोर्टफोलियोलाई अन्य व्यापारिक क्षेत्र जस्तै खाद्यान्न, औषधी, सर्जिकल उत्पादन, उपभोक्ता इलेक्ट्रोनिक्स र विभिन्न प्रकारका हार्डवेयर सहायक उपकरणमा विस्तार गरेको छ ।
गौरिशंकर केयालका छोरा गुलाब राई केयालले १९५१ मा वीरगन्जमा काठ र चामल मिल स्थापना गरेर पारिवारिक व्यवसाय विस्तार गरेका थिए। दुवै मिल र कपडा व्यापार व्यवसाय आज पनि चलिरहेका छन् ।
केयाल ग्रुपको वृद्धिको अर्को प्रमुख मोड तब थियो जब गुलाब राई केयालका छोरा सत्यनारायण केयाल कपडा र काठको क्षेत्रभन्दा बाहिर गए । १९८६ मा उनले वीरगन्जमा पेन्ट र हार्डवेयर पसल स्थापना गरे। स्थानीय उपभोक्तालाई हार्डवेयर सामान भण्डारण गर्नुका साथै तिनीहरूले स्थानीय उत्पादन उद्योगलाई फलाम र स्टिल उत्पादनजस्ता निर्माण सामग्री आपूर्ति गर्न थालेका थिए। १९९३ मा काठमाडौंमा एउटा स्टोर खोलेका थिए ।
ग्रुपले १९९३ मा नारायणी रोलिङ मिल्स स्थापना गरेको थियो। त्यसको एक वर्षपछि उद्योगले स्टिल उत्पादन गर्दै सञ्चालन सुरु गरेको थियो ।
पाँच वर्षपछि सन् १९९९ मा श्री कृष्ण स्टिल्स स्थापना भयो। ग्रुपले स्टिल पाइप र सटरिङ प्रोफाइल उत्पादन थाल्यो। त्यसपछि २००५ मा स्टार सिमेन्ट उद्योगले व्यापार गर्न थाल्यो। देशभर निर्माण उद्योगको बढ्दो विकासको पुँजीकरण गर्दै केयाल ग्रुपका विविध व्यवसाय देशभरि अग्रपंक्तिमा देखिएको छन्।
ग्रुप अध्यक्षमा सत्यनारायण छन् भने निर्देशकमा राजेश, सुरेश, रितेश, विकास कुनाल, निकित र अनुज छन्। (साभार : कैपिटल नेपाल)

 

प्रतिक्रिया दिनुहोस्