रामाशंकर र दिनेशले रक्सौल हुंदै धनुषाको नाकाबाट दैनिक २ सय पोका कपडा भित्र्याउदै

सिमित प्रहरी र व्यापारीले फाइदा लिएको तस्करीबाट मुलुकले दैनिक करोडौं रुपैयां राजस्व गुमाएको छ । 

सम्वादाता | २०८० भदौ २८ गते १६: ४४ मा प्रकाशित

धनुषा – वीरगन्जको सीमावर्ती भारतीय बजार रक्सौल निवासी कपडा व्यापारी रामाशंकर गुप्ता र सर्लाहीको मंलगवा निवासी दिनेश चौधरीको समूहले दैनिक ठूलो परिमाणमा कपडा अवैध रुपले नेपाल भित्र्याउन थालेका छन् । जानकारका अनुसार पर्सा र वारामा तस्करीको लाइन नखुलेकाले गुप्ता र चौधरीले रक्सौलबाट कपडा लोड गरि धनुषाको जटही नाकाबाट नेपाल भित्र्याउने गरेका छन् । 

पिक अप गाडीमा धनुषाबाट कपडा भित्र्याएर बर्दीवासबाट बिपी राजमार्ग हुंदै तस्करीको कपडा काठमाडौको गोदाममा पुग्ने गरेको छ । सम्वद्ध स्रोतका अनुसार काठमाडौ पुगेको उक्त कपडा उमेश अधिकारीले अनलोड गरि विभिन्न व्यापारी (पार्टी) कोमा पुगाउने गरेका छन् । तस्करीको कपडा अनलोड र डिलेभरीको जिम्मा अधिकारीले लिएका छन् । नेपालीहरुको चाडपर्वको बेला भन्सार नाकाबाट कपडा न्युन परिमाणमा मात्र भित्रिएको छ ।

 

तर, तस्करहरुले सीमावर्ती नाकामा तैनाथ प्रहरीहरुसंगको मिलेमतोमा ठूलो परिमाणमा अवैध रुपले कपडा नेपाल भित्रयाईरहेका छन् ।  रक्सौलका कपडा व्यवसायीका अनुसार रामाशंकर र प्रदीप साहले सर्टिङ, सुटिङ, कुर्ता, सुरुवाल, साडी लगायतका कपडा दैनिक करिब २ सय पोका धनुषा पठाउने गरेका छन् ।

धनुषा नाकामा दिनेश चौधरीले भारतीय नम्बरको पिक अपबाट नेपाली नम्बरके पिक अप गाडीमा लोड गराई नाका कटाउने गरेका छन् । बिना बिल बिजकको एक पोका कपडाको चौधरीले १३ हजार पांच सय रुपैयां लिने गरेका छन् । एक पोकामा एक सय देखि एक सय २५ थान कपडा प्याक गरिएको हुन्छ । सिमित प्रहरी र व्यापारीले फाइदा लिएको तस्करीबाट मुलुकले दैनिक करोडौं रुपैयां राजस्व गुमाएको छ । 

प्रतिक्रिया दिनुहोस्