वीरगन्ज उद्योग वाणिज्य संघको जम्बो टोली विदेश शयरमा

विदेशी पैसा सन्चितिका लागि राष्ट्र बैंकले कडा नीति लगाए पनि उद्योगीहरु संघको पैसाले विदेश भ्रमणमा

सम्वादाता | २०७९ कार्तिक १५ गते १५: २८ मा प्रकाशित

वीरगन्ज– मुलुकमा घट्दै गएको अमेरिकी डलरको सञ्चिति वृद्धि गर्न राष्ट्र बैंकले कडा निर्देशन जारी गरेको छ । उद्योग तथा व्यापार प्रवद्र्धन र सहजीकरण मूख्य उद्देश्य रहेको वीरगन्ज उद्योग वाणिज्यका पदाधिकारीहरु भने संघको बजेटले विदेश भ्रमणमा निस्किने भएका छन् ।

भोलि कात्तिक १६ गतेदेखि वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी परिवार सहित सिंगापुर र भियतनाम भ्रमणमा जान लागेका हुन् । भारत निकासी हुने सामानको उत्पक्तिको प्रमाणपत्र जारी गर्दा संघले वर्षेनी मोटो रकम आम्दानी गर्ने गरेको छ ।

वर्षौ देखि संघको खातामा जम्मा भएको रकम हालको नेतृत्वले जाथाभावी खर्च गरेको आरोप लाग्दै आएको छ । आर्थिक मन्दीको समयमा उद्योग तथा व्यापारको सहजीकरणमा खर्च गर्नुपर्ने रकम उद्योग वाणिज्य संघका पदाधिकारी परिवार सहित विदेश भ्रमणमा खर्चिने भएपछि आर्थिक नगरी वीरगन्जका उद्योगी तथा व्यापारीले संघका अध्यक्ष सुवोध गुप्ताको नेतृत्वको आलोचना गरेका छन् ।

यस अघि संघकै ७ लाख रुपैयाँ खर्चेर गुप्ताले दुबईमा डाक्टरको उपाधि खरिद गरेको समाचार उजागर भएपछि उनी आलोचित बनेका थिए । चौतर्फी आलोचना भएपछि अध्यक्ष गुप्ताले उक्त रकम संघलाई फिर्ता गरेका थिए ।  गुप्ताको कार्यकालमा झन्डै २ करोड रुपैयाँको आर्थिक अनियमितता भएको संघका एक पदाधिकारीले खुलाएका छन् ।

वीरगन्जको विर्ता स्थित संघको भवनमा हालै निर्माण भएको हलमा समेत व्यापक आर्थिक अनियमितता भएको बोर्डका सदस्यले बताएका छन् । उक्त हल सजाउनमा करिब ७५ लाख रुपैयाँ खर्च भएको छ, एक बोर्ड सदस्यले भने, गुप्ताको कार्यकालमा आर्थिक अनियमितताले सिमा नाघेको छ । सिंगापुर र भियतनाम भ्रमणमा संघको खातामा करिब ३५ लाख रुपैयाँ झिकिएको पदाधिकारीले जनाएका छन् ।

संघका अध्यक्ष गुप्ता सहित निवर्तमान अध्यक्ष गोपाल केडिया, महासचिव मनोज दास, तृतीय उपाध्यक्ष माधव राजपाल, सचिव अरविन्द अमात्य, सहसचिव अनोज रुगंटा, सहकोषाध्यक्ष प्रेमचन्द गोयल, सदस्यहरु रबि वर्णवाल, पन्नालाल साह, शिवजी साह, हरि पन्त, नरेश टिबडेवाल, मुरली जालान,

प्रमोद चौरसिया, प्रकाश खण्डेलवाल, प्रभात रुंगटा, सुनिल खेतान, अंकित खेतान, मनोज कुमार शर्मा, अनुप अग्रवाल, सुभम खण्डेलवाल लगायतकोको टोली वीरगन्जबाट पटना, त्यहाँबाट कोलकाता अनि सिंगापुर जाने बताइएको छ । सिंगापुरबाट भियतनाम भ्रमणपछि उद्योग वाणिज्य संघको टोली १० औँ दिन वीरगन्ज फर्किने छ । 

 

प्रतिक्रिया दिनुहोस्