३४ प्रतिशतले घटयो भन्सारबाट उठ्ने राजस्व

यो वर्षको तीन महिनामा आयात तथा निर्यात घट्दा त्यसको असर राजस्वमा पनि देखिएको छ ।

सम्वादाता | २०७९ कार्तिक १३ गते १५: ३७ मा प्रकाशित

काठमाडौं- चालु वर्षको तीन महिनामा भन्सारबाट संकलन हुने राजस्व गत वर्षको तुलनामा ३४ प्रतिशतले घटेको छ । यो वर्षको तीन महिनामा आयात तथा निर्यात घट्दा त्यसको असर राजस्वमा पनि देखिएको छ ।

भन्सार विभागका अनुसार यो वर्षको तीन महिनामा १६ प्रतिशतले आयात घटेको छ । गत वर्षको तुलनामा आयात घटेको र त्यसमा पनि धेरै राजस्व संकलन हुने सवारी साधन तथा मदिरा आयात रोकिएकाले प्रभावित भएको छ ।

यो वर्षको तीन महिनामा भन्सार राजस्व ९६ अर्ब ६१ करोड रुपैयाँ संलकन भएको छ। गत वर्षको यही अवधिमा भन्सारबाट १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँ संकलन भएको थियो। गत वर्षको तुलनामा यो वर्ष ३३ अर्ब ३५ अर्ब राजस्व न्यून संकलन भएको छ ।

सबैभन्दा धेरै राजस्व गिरावट सवारीसाधनबाटै भएको छ। विभागको तथ्यांक अनुसार गत वर्षको तीन महिनामै ३४ अर्बको सवारी साधानको आयातबाट ३४ अर्ब नै राजस्व संकलन भएको थियो। तर यो वर्ष भने १५ अर्बको सवारी आयात भएर ११ अर्बमात्र राजस्व संकलन भएको छ ।

राजस्वको मुख्य स्रोत सवारी साधान आयात हो। यही आयात प्रतिबन्ध लागेको छ। असारसम्म बैशाखमै खोलिएको एलसीको सामान आइरहेको भएपनि त्यसपछि भने नयाँ एलसी नखोलिएकाले राजस्वमा प्रभाव अझै देखिँदै जाने देखिन्छ ।

सवारी तथा सवारीजन्य पार्टपुर्जाको आयातमा उल्लेख्य गिरावट आएको छ। आयातको अनुपातमा राजस्व संकलनमा ठूलो गिरावट आएको तथ्यांक छ ।
भुक्तानी सन्तुलन कायमै राख्नका लागि सरकारले आयात प्रतिबन्धको अवधि अझै थप गर्दै जाँदा राजस्वमा असर अझै देखिने व्यवसायीको भनाइ छ। भन्सार बाहेक आयातको सम्बन्ध आन्तरिक राजस्वमा पनि देखिन्छ। आयातमा आधारित व्यापार व्यवसायबाट संकलन हुने आन्तरिक कर पनि प्रभावित भइरहेको छ ।

गएको आर्थिक वर्षको सुरुदेखि नै भुक्तानी सन्तुलनमा दबाब परेपछि सरकारले बैशाखमा आएर केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। बैशाखमा असार मसान्तसम्मका लागि भनेर लगाइएको प्रतिबन्धलाई मंसिरसम्म सारिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्