वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ औं साधारण सभा सम्पन्न

वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ औं साधारण सभा आज सम्पन्न भएको छ ।

सम्वादाता | २०७९ जेठ २१ गते १८: ०२ मा प्रकाशित

वीरगञ्ज - वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ औं साधारण सभा आज सम्पन्न भएको छ । अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । महासंघको सभा हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जे पनि गर्न तयार रहेको बताउनुभयो । मन्त्री शर्माले सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए । त्यस्तै मन्त्री शर्माले बीरगञ्ज चिनी कारखाना संचालनका लागि आवश्यक प्रकृया अघि बढेको समेत जानकारी दिनुभयो । वीरगञ्ज उद्योग बाणिज्य संघको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराललगायतको टोलीले आज बिहान वीरगञ्ज चिनी उद्योगको निरिक्षण गर्नुभएको थियो । संघका अध्यक्ष डा। सुबोध कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मधेश प्रदेशका मन्त्री एवं संघका पुर्व अध्यक्ष ओमप्रकाश शर्मा, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव, वीरगंजका मेयर राजेशमान सिंह, संघका पुर्व अध्यक्ष अशोक वैद्य लगायतकाले धारणा राखेका थिए । कार्यक्रममा पर्साका पत्रकार बिजय चौहान,सुरेश बिडारी, राकेश साह,जियालाल साह, माधुरी महतो ,बिमला गुप्ता ,मनोज पटेल र सुर्य बिकलाई प्रमुख अतिथी शर्माले सम्मानित समेत गरेका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिव मनोज दासले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्