नियन्त्रणबाहिर आगलागी र डढेलो

१४ दिनमा १० जनाको मृत्यु, ४६३ घर पूर्ण रूपमा ध्वस्त, ९४४ परिवार विस्थापित

सम्वादाता | २०८१ बैशाख १५ गते ०८: ०६ मा प्रकाशित
काठमाडाैं , 

पाँच वर्षमा आठ हजार ३३२ घरमा आगलागी : ४७१ को मृत्यु, झन्डै १२ अर्बको क्षति

  • ४३ जना घाइते 
  • २०२ मा घरमा आंशिक क्षति 
  • २७१ गोठ जले, ४४६ पशुचौपाया मरे 
  • २३ करोड ७३ लाखको भौतिक क्षति

वैशाख लागेयता देशभर आगलागी र डढेलो भयावह बनेको छ । गत वर्षको तुलनामा क्षति पनि दोब्बरले बढेको छ । शुक्रबार मात्र देशका दर्जनौँ ठाउँमा आगलागी भएको छ । 

गृह मन्त्रालयमातहतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक (नेपाल प्रहरीले संकलन गरेको) हेर्दा १४ वैशाखसम्म देशका चार सय २६ ठाउँमा आगलागी भएको छ भने दुई सय ४३ स्थानमा डढेलो बस्ती पसेको छ । १४ दिनमा आगलागीमा परी १० जनाले ज्यान गुमाएका छन् । ४३ घाइते भएका छन् । ६ सय ६५ घरमा आगलागी हुँदा नौ सय ४४ परिवार प्रभावित÷विस्थापित भएका छन् । २३ करोड ७३ लाखको भौतिक क्षति आकलन गरिएको छ । 

गत वर्ष यही अवधि (१–१४ वैशाख)मा तीन सय ३३ ठाउँमा आगलागी–डढेलो लाग्दा पाँचजनाको मृत्यु भएको थियो, २२ जना घाइते भएका थिए । एक सय २५ घर पूर्ण र ९१ घर आंशिक गरी दुई सय १६ घरमा आगलागी हुँदा तीन सय ९७ परिवार प्रभावित भएका थिए । एक सय चार गोठमा आगो लाग्दा दुई सय तीन चौपाया मरेका थिए भने १४ करोड १३ लाखको क्षति भएको छ ।

 

 महोत्तरी मटिहानी नगरपालिका– ६ जरलहवा टोलमा बुधबार भएको भीषण आगलागी एक सय तीन घरमा सल्कियो । एक सय घर पूर्ण रूपमा जलेका छन् । झन्डै पाँच सय स्थानीय विस्थापित भएका छन् । परालको कुनिउँमा लागेको आगो बस्तीभर फैलिएर एक करोड ६२ लाख ८५ हजारको क्षति भएको आकलन मटिहानी नगरपालिकाको छ । पछिल्लोपटक हरेक दिन कुनै न कुनै ठाउँमा आगलागी भइरहेको छ । तर, बस्ती नै सखाप पार्ने गरी भएको जरलहवाको आगलागी ०८१ कै पहिलो हो । वनमा लागेको डढेलो ८ वैशाखमा बस्ती पसेपछि इस्मा गाउँपालिका– २ हस्तीचौर र वडा नम्बर ४ सिदुंखाकाका २६ घर, ४९ गोठ जलेका थिए । एक सय ९९ स्थानीय छिमेकी र त्रिपालमुनि बसेका छन् । ९ वैशाखमा सप्तरी कञ्चनरूप नगरपालिका– ५ पडेमारामा आगलागी हुँदा १२ परिवारका २४ घर जलेका थिए । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले आगलागीका कारण र आगामी दिनमा ठूलो क्षति हुन नदिन अपनाउनुपर्ने सजगताबारे अध्ययन गर्न प्राधिकरणले टोली खटाएको बताए । ‘डढेलो निभाउन तीन प्रकारका तालिम दिएका छौँ । वन उपभोक्ता र युवालाई आगो निभाउने तालिम दियौँ । आगो निभाउन खटिने सुरक्षा अंगलाई पनि फायर फाइटिङसम्बन्धी तालिम दिएका छौँ । त्यस्तै, जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला निकायलाई पनि तालिम दिएका छौँ,’ उनले भने, ‘यसपटक महोत्तरी, सप्तरी र गुल्मीमा आगलागीका ठूला घटना भएका छन् । ती क्षेत्रमा भएको क्षतिको विस्तृत अध्ययन, आगलागीका कारण र आगामी दिनमा ठूलो क्षति हुन नदिन अपनाउनुपर्ने सजगताबारे अध्ययन गर्न प्राधिकरणले टोली नै खटाएको छ ।

पाँच वर्षमा आठ हजार ३३२ घरमा आगलागी : ४७१ को मृत्यु, झन्डै १२ अर्बको क्षति
पाँच वर्षमा आठ हजार तीन सय ३२ घरमा आगलागी भएको छ । राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ०७६ देखि ०८० सम्म आगलागी (बस्ती पसेका डढेलोसहित)का १५ हजार तीन सय ४० घटना रेकर्ड हुँदा पाँच हजार तीन सय ४३ घर जलेर नष्ट भएका छन् । दुई हजार नौ सय ८९ घरमा क्षति पुगेको छ । पाँच वर्षमा आगलागीमा परी चार सय ७१ जनाको ज्यान गएको छ भने एक हजार नौ सय ८० जना घाइते भए । तीन हजार सात सय ४१ गोठ जलेका छन् भने आठ हजार तीन सय १३ पशुचौपाया मरेका छन् । ११ अर्ब ९८ करोड ८८ लाख ५४ हजारको क्षति आकलन गरिएको छ । 

गत वर्ष चार हजार पाँच सय ३४ ठाउँमा आगलागी हुँदा एक सय १९ जनाको ज्यान गएको थियो । पाँच सय ३१ जना घाइते भएका थिए । एक हजार एक सय १५ पूर्ण र पाँच सय ३५ आंशिक गरी एक हजार ६ सय ५० घरमा क्षति पुगेको थियो । नौ सय ४१ गोठ जलेका थिए भने दुई हजार दुई सय १६ पशुचौपाया मरेका थिए । दुई अर्ब ५४ करोड ७२ लाखको क्षति भएको थियो ।

०७९ मा तीन हजार दुई सय १४ ठाउँमा आगलागी, डढेलो हुँदा एक सय १० जनाको मृत्यु भएको थियो । तीन सय ९५ जना घाइते भएका थिए । नौ सय ९२ पूर्ण र पाँच सय ९० आंशिक गरी एक हजार पाँच सय ८२ घरमा क्षति हुँदा तीन हजार सात सय ७४ परिवार प्रभावित भएका थिए । दुई हजार एक सय ७३ चौपाया मरेका थिए भने सात सय २९ गोठ जलेका थिए । दुई अर्ब ५२ करोड ७० लाखको क्षति भएको थियो ।

०७८ मा भने आगलागी केही कम भएको थियो । दुई हजार चार सय ६६ ठाउँमा आगलागी हुँदा ९५ जनाको मृत्यु भएको थियो । तीन सय ८१ जना घाइते भएका थिए । सात सय ७७ घर पूर्ण र सात सय २६ आंशिक गरी एक हजार पाँच सय तीन घरमा क्षति पुगेको थियो । नौ सय ६८ पशुचौपाया मरेका थिए भने ६ सय १५ गोठ जलेका थिए । दुई अर्ब २७ करोड ३४ लाखको क्षति भएको थियो ।

०७७ मा दुई हजार पाँच सय ८६ ठाउँमा आगलागी हुँदा ९७ जनाको मृत्यु भएको थियो भने तीन सय ७९ जना घाइते भएका थिए । एक हजार ११ घर पूर्ण र ६ सय ८७ घरमा आंशिक गरी एक हजार सात सय ९८ घर जलेका थिए । सात सय ६९ गोठ जल्दा एक हजार चार सय १४ पशुचौपाया मरेका थिए । त्यस वर्ष एक अर्ब ८२ करोड १८ लाखको क्षति भएको थियो । ०७६ मा दुई हजार चार सय ९५ आगलागीका घटना हुँदा ५० जनाको मृत्यु भएको थियो । दुई सय ९४ जना घाइते भएका थिए । एक हजार तीन सय २१ घर पूर्ण र चार सय ४३ घर आंशिक गरी एक हजार सात सय ६४ घरमा क्षति भएको थियो । तीन हजार एक सय ४१ परिवार प्रभावित भएका थिए । ६ सय ५१ गोठ जल्दा एक हजार पाँच सय २८ पशुचौपाया मरेका थिए । दुई अर्ब ७९ करोड एक लाखको क्षति भएको थियो । 

मौसमविद्लाई प्रश्न– नेपालमा आगलागी र डढेलोको पूर्वानुमान किन हुँदैन ?
 अमेरिका, अस्ट्रेलियालगायत विकसित मुलुकमा आगलागी–डढेलोबारे पूर्वानुमान गर्ने गरिन्छ । तर, नेपालमा अभ्यास छैन । ‘अस्ट्रेलियामा आगलागी धेरै हुन्छ, त्यहाँ मौसम एजेन्सीले नै आगलागीको पूर्वानुमान गर्छ । हामीले गरेका छैनौँ । केही वर्षअघिसम्म नेपालमा आगलागी यति बिघ्न समस्याका रूपमा थिएन,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले भनिन्, ‘अहिले डढेलो, आगलागीले विकराल रूप लिन थाल्यो । विभागले नै पूर्वानमान गर्नुपर्छ भन्ने लाग्छ ।’

तर, आगलागी, डढेलो बढ्छ कि बढ्दैन भनेर प्रस्ट रूपमा पूर्वानुमान गर्न त्यस क्षेत्रको मौसमी पूर्वानुमान, वर्षा हुन्छ कि हुँदैन र तापक्रम कति हुन्छ भन्ने एकुरेट मिल्नुपर्ने उनी बताउँछिन् । ‘नेपालमा अध्ययन–अनुसन्धान ल्याप्सेस छ । कति सुक्खा हुँदा, तापक्रम कति हुँदा त्यस क्षेत्रमा आगलागी फैलन्छ भनेर थ्रेसहोल्ड चाहिन्छ । मोडल पनि डेभलप गर्नुपर्‍यो,’ उनले भनिन्, ‘त्यसपछि वर्षाको पूर्वानुमान जसरी आगलागीको पूर्वानुमान पनि गर्न सकिन्छ ।’ र, विकसित प्रविधिलाई पनि आत्मसात् गर्नुपर्ने उनी बताउँछन् ।

वनजंगलमा डढेलो धेरै लाग्ने–नलाग्ने भनेर मौसमी प्रणालीमा आधारित हुने गर्छ । ‘जब सुक्खा हुन्छ, पानी पर्दैन भने सानो चिजले पनि आगलागी हुन सक्छ,’ उनले भनिन्, ‘पानी परेको छ भने चुरोटको ठुटो फाले पनि आगो सल्किँदैन । डढेलो घटना मौसमले निर्धारण गर्छ, बढ्छ कि बढ्दैन भनेर ।’ कुनै एक ठाउँमा आगलागी भयो भने कतातिर फैलन्छ भनेर हावाको गतिमा भर पर्ने गर्छ । ‘हावा जता बहन्छ, त्यतातिर आगो फैलिन्छ, आगलागीपछि तापक्रम बढ्छ । प्रदूषण बढ्छ,’ उनले भनिन्, ‘तापक्रम धेरै छ, हावा चलेको छ भने घरमा लागेको आगो पनि बस्तीका अन्य घरमा फैलने सम्भावना हुन्छ ।’ पछिल्लो तीन दिनमा पहाडी क्षेत्रमा फाटफुट वर्षा हुने देखिए पनि तराईमा सम्भावना छैन ।

देशभरका वनजंगलमा डढेलो

देशभरका वनजंगलमा डढेलो छ । नासाले स्याटेलाइटबाट लिएको तस्बिरका आधारमा विश्लेषण गर्दा पछिल्लो २४ घण्टामा तीन सय ७६ ठाउँमा डढेलो लागेको छ । यो कम्तीमा एक किलोमिटर क्षेत्रमा लागेको डढेलो हो । नक्सा हेर्दा पश्चिम तराई र पहाड तथा मध्यनेपालको पहाडी क्षेत्रमा डढेलो धेरै देखिन्छ । सामुदायिक र राष्ट्रिय वन मात्र होइन, संरक्षित वन (निकुञ्ज, आरक्ष)मा पनि डढेलो छ । सबैभन्दा बढी कैलालीमा ३० ठाउँमा डढेलो लागेको छ ।

त्यस्तै, धेरै डढेलो लागेका जिल्लामा सल्यान र सुर्खेतमा २८–२८, बर्दियामा २५, डडेल्धुरामा २४, दाङमा २३, प्युठानमा १७, डोटीमा १५ र उदयपुरमा १३ ठाउँमा डढेलो छ । बिहीबार चार सय ४० र बुधबार चार सय ६३ ठाउँमा डढेलो थियो । वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । पछिल्लो तथ्यांक हेर्दा नेपालमा डढेलोमा मात्र (बस्तीमा भएका आगलागीबाहेक) बर्सेनि सातजनाको ज्यान जाने गरेको छ । 

विपत् प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल भन्छन्– मान्छेको लापरबाहीकै कारण आगलागीले विकराल रूप लियो
यसपटक आगलागी र डढेलोले विकराल रूप लिन्छ भनेर प्राधिकरणले पहिल्यै आकलन गरेको थियो । त्यहीअनुसार सजगता अपनाउन भनेका थियौँ । तर, मान्छेकै लापरबाहीका कारण आगलागीले विकराल रूप लिएको हो ।

खेतमा झारपात डढाउने नाममा होस् कि खर राम्रो हुन्छ भनेर जंगलमा आगो लगाउने होस्, मान्छेले नै गरेका हुन् । आगो फैलिन तयार भएर बसेको अवस्थामा सलाई कोरिदिँदा जंगल, बस्ती जलिरहेका छन् । यो हिउँदमा २० प्रतिशत मात्र पानी पर्‍यो, सुक्खा लम्बिएको छ ।

देशभर तापक्रम बढेर तराईमा त तातो हावाको लहर चलिरहेको छ । गत दुई वर्षमा डढेलो कम लागेको थियो, यसपटक जंगलमा पातपतिंगर, दाउरा थुप्रिएर बसेका थिए । जंगलमा चिस्यान कम भयो, हावाहुरी पनि चलिरहेको छ ।

को कहाँ चुके ? 

जनस्तरमा लापरबाही : गहुँको छ्वाली जलाउन र फोहोर डढाउन लगाइएको आगो बस्ती र जंगलमा सल्किरहेको छ । जनस्तरमा यसरी भइरहेको लापरबाहीले घर मात्र जलेका छैनन्, मान्छेकै ज्यान गइरहेको छ । खर राम्रो हुने, घाँस पलाउँछ भनेर जंगलमा आगो लगाउने, चुरोटको ठुटा फ्याँक्ने गर्दा आगलागीले विकराल रूप लिएको हो ।

सामुदायिक वनको सक्रियता देखिएन : यसपटक आगलागी वा डढेलो धेरै ठाउँमा हुन्छ भन्ने अनुमान थियो । देशभर २२ हजार सात सय सामुदायिक वन छन् । तर, आगो लाग्न नदिन सामुदायिक वनको भूमिका देखिएन । हरेक सामुदायिक वनले अग्निरेखा बनाएका हुन्छन् । यसले जंगलको डढेलो गाउँबस्ती पस्न दिँदैन । जंगलमा पनि ब्लक छुट्याइएको हुन्छ, एक ठाउँमा लागेको आगो अर्काे ब्लकमा सल्किन पाउँदैन । तर, सामुदायिक वनले अग्निरेखा सफा (डढेलो सल्किहाले अन्यत्र नफैलियोस् भनेर पातपतिंगर डढाएर बनाइएको रेखा) गरेन । यसले जंगल सखाप भएर बस्तीमा गइरहेको छ । 

पालिका र प्रदेश सरकारको भूमिका देखिएन : आगो लागिसकेपछि निभाउनमा स्थानीय तह अगाडि छन् । तर, आगलागी हुन नदिनका लागि माइकिङ गर्ने, सचेतना फैलाउने काम गर्नुपर्ने हो, त्यो देखिएन । यसमा प्रदेश सरकारको त झनै भूमिका देखिएन ।

संघ सरकार लाचार : आगलागीको प्रक्षेपण भइसकेपछि संघ सरकारले पूर्वतयारी गर्नुपथ्र्यो, गरेन । देशभर आगलागी, डढेलो लाग्न थालेपछि गृह प्रशासन र जिल्ला प्रशासनले सुरक्षाकर्मी परिचालन गर्नुपर्दथ्यो । अटेरी गर्ने, आगो लगाउनेलाई पक्रेर कारबाही गर्ने अभियान नै थालेको भए जनस्तरको लापरबाही कम हुन्थ्यो । प्रशासनले एक्सन लिएमा डराउँथे, तर यसप्रति ध्यान गएन । ठूलो क्षेत्रमा डढेलो, बस्ती नै सखाप हुने गरी आगलागी भइरहेको छ । दमकल प्रयोग गर्दा पनि निभाउन दिनभर लागिरहेको छ । यस्ता ठूला आगलागी भएका क्षेत्रमा सरकारले हेलिकोप्टरको बकेटमार्फत पनि आगो निभाउनुपर्ने हो । डढेलो बस्तीमा जानबाट रोक्न सकिन्थ्यो । यसमा सरकारले मतलब गरेको छैन । आगो लागिसकेपछि सुरक्षाकर्मी निभाउन जान्छन्, यथोचित उपकरण नहुँदा ज्यान गुमाउनुपरेको छ । डोल्पामा तीन सैनिकको ज्यान गयो । स्याउलाले आगो निभाउन पठाइन्छ । 

 

प्रतिक्रिया दिनुहोस्