नेपालमा चामलपछि प्याजको भाउ बढाउने भारतको खेल, किलोकै सयमाथि पुग्ने

भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले शनिबार प्याज निर्यातमा ४० प्रतिशत भन्सार शुल्क लगाएको हो । यो भन्सार शुल्क पुस ५ सम्म लागू हुनेछ ।

सम्वादाता | २०८० भदौ ४ गते ०९: ५७ मा प्रकाशित

वीरगन्ज– ठिक एक महिनाअघि साउन ४ मा भारतले चामल निर्यातमा रोक लगायो । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले सूचना जारी गर्दै मोटा, जिरामसिना लगायत चामल निर्यातमा रोक लगाएको थियो। भारतको यो निणर्यको असर सोझै नेपाली भान्छामा पर्यो। फलस्वरूप चामलमा बोराको २ देखि ३ सयसम्म बढ्यो ।

चामल निर्यात प्रतिबन्ध लगाएको ठिक एक महिनापछि भारतले प्याज निर्यातमा कडाई गर्यो । भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले शनिबार प्याज निर्यातमा ४० प्रतिशत भन्सार शुल्क लगाएको हो । यो भन्सार शुल्क पुस ५ सम्म लागू हुनेछ । संसारकै दोस्रो ठूलो परिमाणको प्याज उत्पादक भारतमा अगस्ट महिनामा एक दशकयताकै सुक्खायाम लागेकाले पनि उत्पादन घटेको थियो । मूल्यवृद्धिबाट जनतालाई राहत दिन भारतले यस्तो निर्णय गरेको जनाइएको छ ।

तर, भारतको यो निणर्य सोझै नेपाली उपभोक्तामा पर्ने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्। ‘नेपालकै ठूलो तरकारी बजार कालिमाटीमा ९० प्रतिशतभन्दा धेरै प्याज भारतबाट आउँछ ।

भारतले नै भन्सार ४० प्रतिशत बनाएपछि मूल्यमा सोझै असर पर्छ,’ श्रेष्ठले क्यापिटल नेपालसँग भने, ‘केही दिनमै प्याजको मूल्य किलोको १ सय रुपैयाँभन्दा माथि पुग्ने आँकलन छ।’ प्याजको ‘रिफ्रेन्स मूल्य’ बारे नेपाली प्याज व्यवसायीको गुनासो रहेको उनले बताए। ‘भन्सारले मौसमअनुसार आलु, प्याजलगायतमा रिफ्रेन्स रेट राख्छ। प्याजको अहिले रिफ्रेन्स रेट २५ रुपैयाँ छ। रिफ्रेन्स रेट यति नै राखे हामीलाई कालोबजारीको आरोप लाग्छ कि भनेर व्यापारीले गुनासो गरिरहेका छन्,’ उनले भने।

नेपालमा प्याज उत्पादन नगण्य हुने हुँदा भारतले भन्सार लगाउँदा नेपाली उपभोक्तालाई समस्या पर्ने तरकारी आपूर्तिकर्ता प्रकाश गजुरेल बताउँछन् । ‘व्यापारीले महँगोमा ल्याएर सस्तोमा बेच्न सक्दैनन्। अहिले भारत सरकारले बढाएको भन्सारको भार उपभोक्ताले नै बोक्नुपर्ने हो,’ उनले भने।

अबका दिनमा आयात हुने प्याजको मूल्य किलोको १ सयभन्दा धेरै पुग्ने उनको अनुमान छ । ‘नेपालमा उपभोग हुने प्याज ९० प्रतिशतभन्दा धेरै भारतबाट आउँछ,’ उनले भने, ‘उतैबाट ४० प्रतिशत बढेर आएपछि अहिलेको मूल्य अनुसार १ सयभन्दा माथि त सोझै पुग्छ।’ बढेको भन्सार दर फिर्ता गर्न नेपाल सरकारले तुरुन्त पहल गर्नुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन् ।

‘उनीहरूकोमा अभाव हुँदा नेपालले आफ्नो उपभोक्ताको हित नभनी गोलभेँडा निर्यात गर्न दियो, तर उनीहरूले भने आफूलाई अभाव हुने भएपछि न्यूनतम छिमेकीको सम्बन्ध पनि बिर्सिएर ४० प्रतिशत भन्सार लगाए,’ उनले भने, ‘यो भन्सार शुल्क हटाउन नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत तुरुन्त कूटनीतिक पहल गर्नुपर्छ।’

एक वर्षमा १२ करोडको प्याज आयात
आर्थिक वर्ष २०७९र८० मा मात्र नेपालले भारतबाट करिब १२ करोडको सुक्खा प्याज आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार यस वर्ष ११ करोड ७४ लाख ४ हजार रुपैयाँको १३ लाख २८ हजार ६ सय ११ किलो सुक्खा प्याज आयात गरेको थियो । त्यसैगरी सोही आर्थिक वर्ष नेपालबाट १ करोड ७७ लाख ३ हजार रुपैयाँको २ हजार ८ सय किलो प्याज निर्यात गरेको थियो।

प्रतिक्रिया दिनुहोस्