हिन्दु घटे, इस्लाम र इसाई बढे

सम्वादाता | २०८२ जेठ १९ गते ०२: ३२ मा प्रकाशित

नेपाल हिन्दु धर्मावलम्बीहरूको बाहुल्य रहँदै आए पनि पछिल्लो समय विभिन्न धर्म प्रवेशले हिन्दु अनुयायीहरूको संख्यामा गिरावट आएको छ। २०७८ सालको राष्ट्रिय जनगणनाको नतिजाअनुसार नेपालमा अनुयायी संख्याका आधारमा प्रमुख धर्मका रूपमा हिन्दु रहेको छ। कुल जनसंख्याको ८१.२ प्रतिशत हिन्दु रहेको तथ्य बुधबार सार्वजनिक गरिएको हो।

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक विनोदशरण आचार्यले जनगणनाको नतिजा सार्वजनिक गर्दै कुल जनसंख्याको ८१.२ प्रतिशत जनसंख्याले हिन्दु धर्म अपनाएको देखिन आएको उल्लेख गरे। जनसंख्याकै आधारमा नेपालको दोस्रो ठुलो धर्म बौद्ध हो। नेपालमा बौद्ध धर्मका अनुयायीहरूको संख्या ८.२ प्रतिशत छ।

यसैगरी ५.१ प्रतिशत जनसंख्याले तेस्रो स्थानमा पर्ने इस्लाम धर्म मान्ने गरेको छन् । यस्तै ३.२ प्रतिशत जनसंख्याले किरात धर्म मान्छन् भने इसाई धर्म १.८ प्रतिशत छन्। प्रकृति धर्म ०.३ प्रतिशतले अपनाएको देखिन्छ। बोन धर्म मान्नेको जनसंख्या ०.२ प्रतिशत छ भने शिख र जैन धर्मतर्फ समान ०.०१ प्रतिशत जनसंख्या रहेको छ। देशभरिमा बहाई धर्म मान्ने जम्मा पाँच सय ३७ जना मात्र छन्।

हिन्दु धर्मको कुल जनसंख्या आठवटा जनगणनामा निरन्तर बढेको देखिए पनि २०४८ देखि २०७८ सालको जनगणना अवधिमा यो धर्म मान्ने जनसंख्याको प्रतिशतमा गिरावट आएको छ। यद्यपि २०५८ सालको तुलनामा २०६८ सालको जनगणना हेर्दा हिन्दु धर्मावलम्बी थोरै वृद्धि भएको देखिन्छ।

बौद्ध धर्मको जनसंख्या २००९­/११ देखि २०७८ सालको जनगणनासम्म नै उतारचढाव भइरहेको देखिन्छ। २०१८ देखि २०३८ सालको जनगणनाका बिचमा बुद्ध धर्मावलम्बीको जनसंख्या घटेको थियो भने २०४८ र २०६८ सालको जनगणनामा वृद्धि भएको देखिन्छ। २०७८ सालको जनगणनामा बौद्ध धर्म मान्नेको जनसंख्या घटेको देखिन्छ।

२००९/११ सालको जनगणनामा हिन्दुको जनसंख्या ८८.९ प्रतिशत थियो। २०३८ सालमा हिन्दुहरू बढेर ८९.५ प्रतिशत पुगेका थिए। २०४८ सालयता हिन्दुहरूको जनसंख्यामा लगातार गिरावट आएको छ। २०४८ सालको जनगणनाअनुसार हिन्दु ८६.५ प्रतिशत रहेकोमा २०५८ मा घटेर ८०.६ प्रतिशतमा आएको देखिन्छ। २०६८ सालमा हिन्दु धर्मालम्बी थोरैले वृद्धि भएर ८१.३ प्रतिशत त पुगे पनि २०७८ को जनगणनामा ८१.२ प्रतिशतमा झरेको तथ्यांक छ।

‘विगतका तथ्यांक विश्लेषण गर्दा इस्लाम तथा इसाई धर्मको जनसंख्या २००९/११ देखि २०७८ सालसम्म बढिरहेको देखिन्छ,’ निर्देशक आचार्यले भने, ‘२००९/११ सालको जनगणनामा इस्लाम धर्म नेपालमा तेस्रो ठुलो धर्म थियो, जसको हिस्सा २.५ प्रतिशत थियो। २०७८ सम्म आइपुग्दा यसको जनसंख्या बढेर ५.१ प्रतिशतमा आइपुगेको छ।’

उनले थपे, ‘इसाई धर्मलाई पहिलो पटक १९६१ सालको जनगणनामा समावेश गरिएको थियो। त्यतिखेर चार सय ५८ जना मात्र इसाईहरू थिए। २०१८ देखि २०७८ सालसम्म नौ गुणाले वृद्धि भएको छ।’

निर्देशक आचार्यले २०४८ सालको जनगणनामा तीन वटा रैथाने (आदिवासी) धर्म अभिलेखमा समेटिएको बताए। किरात धर्मावलम्बीको हिस्सा २०४८ बाट २०५८ सालमा तीन गुणाले वृद्धि भएको थियो। २०४६ सालको राजनीतिक परिवर्तनपछि आदिवासी जनजातिहरू तथा अन्य धार्मिक समूहहरू आआफ्ना मौलिक पहिचान र धर्मप्रति पुनः आकर्षित हुन थालेका हुन्। ‘प्रकृति र बोन धर्म पहिलोपल्ट २०६८ को जनगणनामा अभिलेखमा समेटिएका हुन्,’ निर्देशक आचार्य भन्छन्, ‘प्रकृति धर्म अनुसरण गर्नेको संख्या २०६८ को तुलनामा २०७८ मा थोरै घटेको देखिन्छ। यसै अवधिमा बोन धर्म अनुयायीको संख्या पाँच गुणाले वृद्धि भएको पाइयो,’ उनले भने, ‘अल्पसंख्यक जनसंख्याले अपनाएका जैन, सिख र बहाई धर्मले विभिन्न जनगणनामा उतारचढावपूर्ण प्रवृत्ति प्रस्तुत गरेको देखियो।’

हिन्दु धर्म मान्ने तराईमा बढी

भौगोलिक क्षेत्र अनुसार हिन्दु धर्मावलम्बी तराईमा बढी छन्। जनगणनाअनुसार हिमाल, पहाड र तराईमा १० ओटा धर्मको जनसंख्या वितरण फरक छ। हिन्दु धर्मावलम्बीहरूको बहुमत तराईमा देखिएको तथ्यांकले देखाएको कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्यांक अधिकारी ढुण्डिराज लामिछानेले बताए।

तराईपछि पहाडमा हिन्दुहरूको दोस्रो ठुलो हिस्सा छ। हिन्दुहरूको कुल जनसंख्यामध्ये केवल ५.४ प्रतिशत मात्र जनसंख्या हिमाली क्षेत्रमा रहेको जनगणनाको तथ्यांकले देखाएको छ। बौद्ध धर्म मान्ने कुल जनसंख्यामध्ये पहाड र हिमालमा ८० प्रतिशत छन् भने तराईमा २० प्रतिशतको बसोबास छ।

यसैगरी इस्लामको कुल जनसंख्यामध्ये सबैभन्दा धेरै ९५.२ प्रतिशत तराई क्षेत्रमै बसोबास गरिरहेको तथ्यांक छ। कुल १४ लाख इस्लाम धर्मानुयायीमध्ये निकै सानो हिस्सा ११ सय ७२ जना मात्र हिमाली क्षेत्रमा र ४.७ प्रतिशत पहाडी क्षेत्रमा छन्।

नेपालमा कुल इसाई धर्मानुयायीमध्ये ५५.७ प्रतिशत पहाडमा र ३०.४ प्रतिशत तराई क्षेत्रमा बसोबास गरेको देखिन्छ। ‘पहाडमा किराँत धर्मानुयायीको करिब ५८ प्रतिशत जनसंख्याको बसोबास रहेको तथ्यांक छ भने बोन धर्म मान्नेहरूको अत्यधिक ८४ प्रतिशत हिस्सा पहाडी क्षेत्रमा बसेको तथ्यांक छ,’ प्रवक्ता लामिछानेले भने, ‘जबकि ९५ प्रतिशत इस्लाम, ८१ प्रतिशत बहाई र ७५ प्रतिशत शिख धर्मावलम्बी तराईमा बस्छन्।’

 उनले थपे, ‘पछिलो समय हिन्दु धर्म घट्नुको कारण धर्ममाथिको राजनीति हो। २०४६ सालपछि नेपालको केही हिस्सा जनसंख्या अन्य धर्मतिर डाइभर्ट भएका छन्। धर्म परिवर्तन गर्ने प्रवृत्ति पनि पछिल्लो समय बढको छ।’

नेपालका दुई करोड ३७ लाख हिन्दु सातै प्रदेशमा फैलिएका छन्। मधेस, बागमती र लुम्बिनी प्रदेशमा तुलनात्मक रूपमा हिन्दुहरूको संख्या उच्च छ। कर्णाली प्रदेशमा ९४ प्रतिशत जनसंख्या जनसंख्या हिन्दु धर्म मान्ने र ६ प्रतिशत अन्य धर्म मान्ने छन्। इस्लाम धर्म मान्नेहरू सबै प्रदेशमा छरिएको भए पनि उनीहरू मधेस र लुम्बिनी प्रदेशमा बढी केन्द्रित छन्। इसाईहरू सातै प्रदेशमा पाइए पनि बागमती प्रदेशमा सबैभन्दा धेरै छन्।

इस्लाममा बालविवाह बढी

धर्मका आधारमा वैवाहिक अवस्थाको विश्लेषण गर्दा हिन्दुको वैवाहिक अवस्था ६२ प्रतिशत देखिन्छ। हिन्दु महिलामध्ये ४२.२ प्रतिशतको विवाह १८ वर्षभन्दा कम उमेरमा भएको देखियो भने सो उमेरका विवाहित पुरुषहरूको संख्या १५.५ प्रतिशत मात्र तथ्यांकमा देखिएको छ। विधवा महिलाहरूको संख्या विधुरको भन्दा धेरै देखिएको छ।

 नेपालमा इस्लाम धर्म मान्ने जनसंख्यामध्ये करिब आधा अर्थात् ४९.२ प्रतिशत महिलाले १८ वर्ष नपुग्दै विवाह गरेका छन् भने पुरुषमा यो अनुपात १७.७ प्रतिशत मात्र छ। २०७८ को तथ्यांकमा अन्य धर्मको तुलनामा इस्लाम धर्ममा बालविवाहको दर उच्च छ। इसाईं धर्म मान्ने महिलामध्ये ३९.५ प्रतिशतले १८ वर्ष पूरा गर्नुअघि विवाह गरेको देखियो। इसाई पुरुषमा यो अनुपात १६.१ प्रतिशत छ।

२०७८ को जगगणनाले उर्दू भाषा बोल्नेबाहेक हिन्दु धर्मलाई नेपालका सम्पूर्ण मातृभाषीहरूले अनुसरण गरेको देखाएको छ। उक्त जनगणनाअनुसार १० वटा धर्मका अनुयायीहरूमा महिला र पुरुषको साक्षरतामा ठुलो असमानता छ। इस्लामबाहेक सबै धर्मका अनुयायीहरूको साक्षरता दर राष्ट्रिय औसत ७६.२ प्रतिशतभन्दा उच्च छ। इस्लाममा साक्षरता दर ६१.७ प्रतिशत मात्र छ। यसमा पनि महिला साक्षरता दर ५४ प्रतिशत छ। हिन्दु, बौद्ध र इस्लाम धर्मका अनुयायीहरूमाझ महिलाहरूको साक्षरता दर पुरुषको भन्दा कम छ। साभार ः नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्