युवामा बढ्दैछ मधुमेहको समस्या, बच्न के गर्ने ?

सम्वादाता | २०८१ कार्तिक ३० गते ०८: ५० मा प्रकाशित

मधुमेह अर्थात् डाइबिटिजलाई सामान्य भाषामा चिनी रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढी भएपछि हुने रोग नै मधुमेह हो । हामीले जति पनि खाना खाएका हुन्छौं, पचाउने प्रक्रियामा त्यो खाना ग्लुकोज (चिनी) बनेर रगतमा मिसिन्छ । ग्लुकोज पचाउन शरीरमा रहेको प्याङ्क्रियाज ग्रन्थीले इन्सुलिन उत्पादन गर्छ । इन्सुलिनले खानालाई ऊर्जामा परिणत गर्छ ।

कहिलेकाहीं इन्सुलिन उत्पादन कम हुन्छ वा उत्पादन नै नहुन सक्छ । यस्तो अवस्थामा रगतमा भएको ग्लुकोजको मात्रा बढ्छ । यही अवस्थालाई मधुमेह भनिन्छ । शरीरमा सुगरको मात्रा चाहिने भन्दा बढी भयो भने त्यसले शरीरका विभिन्न अङ्गहरू जस्तै आँखा, मिर्गौला, मुटु, नसा आदिलाई असर गर्छ ।

सुगरको मात्रा खाली पेटमा १२६ भन्दा माथि खानापछिको सुगर १८० भन्दा माथि र तीन महिनाको सुगर ‘एचबीएवानसी’ ६.४ भन्दा माथि भयो भने त्यो मधुमेह हो । साथै र्‍यान्डम सुगर २०० भन्दा माथि छ भने त्यो पनि मधुमेह हो ।

मधुमेह कति प्रकारको हुन्छ ?

मधुमेह मुख्यतया तीन प्रकारको हुन्छ । टाइप वान डायबिटिज, टाइप टु डायबिटिज र जेस्टेसनल डायबिटिज ।

शरीरमा इन्सुलिन बन्दै बनेन भने त्यसलाई ‘टाइप वान मधुमेह’ भनिन्छ । टाइप वानमा इन्सुलिनको मात्रा शून्य हुन्छ । यस्तो अवस्थामा बिरामीलाई इन्सुलिनमार्फत उपचार गरिन्छ ।

शरीरमा इन्सुलिन छ तर पर्याप्त मात्रामा उत्पादन गरेन वा शरीरले भएको इन्सुलिनलाई राम्रोसँग प्रयोगमा ल्याउन सकेन भने त्यो ‘टाइप टु’ मधुमेह हो । टाइप टु डायबिटिज खराब जीवनशैलीका कारण हुने गर्छ ।

जेस्टेसनल डायबिटिज भनेको गर्भवती हुनुअघि मधुमेहको समस्या थिएन तर गर्भवती भइसकेपछि पहिलो, दोस्रो वा तेस्रो जुनसुकै त्रैमासिकमा हुनसक्छ । यो समस्या डेलिभरी भइसकेपछि ठीक हुन पनि सक्छ र पछि ६ महिना, एक वर्षपछि दोहोरिन पनि सक्छ ।

मधुमेहको लक्षण

मधुमेहको लक्षण धेरै किसिमका हुन्छन् । सबैमा एउटै लक्षण देखा पर्छ भन्ने छैन तर धेरैलाई मुख्यतया तीनवटा लक्षण देखिन सक्छ । धेरै तिर्खा लाग्ने, भोक धेरै लाग्ने र छिनछिनमा पिसाब लाग्ने हुन्छ । साथै थकाइ लाग्ने, आलस्य हुने, मुख सुक्खा हुने, खुट्टा झमझमाउने, आँखा धमिलो हुने, यौनइच्छा कम हुने र गिजा पाक्ने जस्ता लक्षण पनि देखिन सक्छ ।

युवाहरूमा मधुमेहको समस्या बढ्दो

पहिला मधुमेह भनेको ४०-५० वर्षपछिका व्यक्तिहरूलाई देखिन्थ्यो । अहिले आएर २०, २२ वर्षको युवाहरूमा पनि मधुमेह देखा पर्न थालेको छ ।

केही समयअघि हामी निष्क्रिय जीवनशैली, खराब खानपानका कारण मधुमेहको समस्या बढेको भन्ने अनुमान गर्थ्यौं, पछिल्लो समय मानसिक तनावको कारण मधुमेह बढेको पाइन्छ ।

युवामा मधुमेहको समस्या बढ्नुको कारण

चार वर्षअघिको समय फर्केर हेर्ने हो भने त्यो कोभिडको समय थियो । यो बेला विद्यालय बन्द भए । अनलाइन क्लास मार्फत पढ्न थाले, घरभित्र थुनिए जसले गर्दा उनीहरू निष्क्रिय भए । घरमा बस्ने खाने सुत्ने मात्र काम भयो जसले गर्दा उनीहरूमा मोटोपनको समस्या बढ्यो । पढाइको तनाव, भविष्यको तनावले पनि उनीहरूलाई सताउन थाल्यो । यो क्रम बढ्दै गयो र उनीहरूमा युवावस्थामा नै मधुमेहको समस्या देखा पर्न थालेको छ ।

मधुमेहले निम्तिन सक्ने जटिलता

रगतमा सुगरको मात्रा सामान्य भन्दा केही बढी मात्रामा भएमा त्यसलाई प्रि-डाइबिटिज भनिन्छ । यो अवस्थामा मधुमेह पहिचान भइसकेको हुँदैन । प्रि–डाइबिटिजले मधुमेहको सुरुवातलाई जनाउँछ । यस्तो अवस्थामा यसलाई हल्का रूपमा लिनु हुँदैन । यसलाई बेवास्ता गरियो भने मधुमेह हुन्छ र मधुमेहलाई नियन्त्रणमा राख्न सकिएन भने जटिलता निम्तिन्छ । मधुमेह लामो समयसम्म नियन्त्रणमा भएन भने बिस्तारै आँखा धमिलो हुने, खुट्टा झमझमाउने, मिर्गौला, मुटु र नसामा समस्या निम्तिन सक्छ ।

मधुमेह र खानपान

मधुमेह भएकाले ‘यो खान हुन्छ, यो हुँदैन, गुलियो त झनै खानुहुँदैन’ भनेको धेरै सुनिन्छ । मधुमेहको समस्या देखिने बित्तिकै बिरामीलाई खानेकुरा बार्नुपर्छ भन्ने चिन्ताले सताउँछ । तर मधुमेहका बिरामीले घरमै बनाएको दाल, भात, तरकारी, माछा मासु लगायत प्राय: सबै खानेकुरा खान मिल्छ । तर भात, रोटी, च्याँख्ला कम, तरकारी र सलाद धेरै खानुपर्छ । पहिले सलाद र पछि खाना खानु राम्रो हुन्छ । घरबाहिरको खानेकुरा जंकफुड, गुलियो पेय पदार्थ, तारेको र प्रशोधित खानेकुरा भने नखानु राम्रो हुन्छ ।

 

मधुमेह र व्यायाम

मधुमेहलाई नियन्त्रण गर्न मुख्यतया तीन कुरामा ध्यान दिनुपर्छ । जीवनशैली परिवर्तन, खानपान र तनाव व्यवस्थापन ।

जीवनशैली परिवर्तनमा जस्तो चिकित्सकले कुर्सीमा बसेर तीनदेखि चार जना बिरामी लगातार हेर्नुपर्छ । तर यसरी बसिरहनु भन्दा बिरामीलाई ढोकासम्म लिन जाने, ल्याउने गरियो भने केही पाइला भए पनि हिंडडुल हुन्छ । बिहानै उठेर नै दौडिनुपर्छ भन्ने छैन आफ्नो समय अनुसार हिंडडुल गर्ने, व्यायाम गर्ने गर्न सकिन्छ । दैनिक ४५ देखि ६० मिनेटसम्म व्यायाम गर्ने हो भने मधुमेह नियन्त्रण गर्न सकिन्छ ।

व्यायामले रक्तप्रवाह, हर्मोन र रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । यसले उच्च मेटाबोलिजम अर्थात् पाचन प्रक्रियालाई सक्रिय बनाएर शरीरमा बोसो जम्न दिंदैन । नियमित व्यायामले रोगप्रतिरोधात्मक क्षमता बढाउने भएकाले मधुमेह नियन्त्रण हुन्छ ।

खानपान नियन्त्रण गरिएन र तनाव व्यवस्थापन गरिएन भने पनि मधुमेह नियन्त्रण हुँदैन । त्यसैले मधुमेह नियन्त्रण गर्न खानपान, व्यायाम र तनाव तिनै कुरालाई व्यवस्थापन गर्नुपर्छ । साथै परिवारको साथ र सहयोग पनि महत्वपूर्ण हुन्छ ।

मधुमेह पूर्ण निको हुन्छ ?

मधुमेह भएपछि कोही बिरामी बर्बाद नै भएँ अब के गर्ने भन्दै अस्पताल आउँछन् भने कोही मधुमेह भयो अब निको पार्न के गर्ने भन्दै अस्पताल आउँछन् ।

मधुमेहलाई नियन्त्रणमा राख्न सकियो भने यसबाट निम्तिने जोखिमलाई कम गर्न सकिन्छ । मधुमेहको समयमै उपचार गरियो र जीवनशैली परिवर्तन गरियो भने सामान्य जीवन जिउन सकिन्छ । यदि मधुमेह देखिएको धेरै समय भएको छैन, सुगर लेभल धेरै बढेको छैन भने व्यायाम र खानपानमा नियन्त्रण गरेर मधुमेह नियन्त्रणमा राख्न सकिन्छ । जीवनभर औषधि खानु पर्दैन ।

मधुमेहलाई नियन्त्रणमा राख्न ध्यान दिनुपर्ने कुरा

मधुमेहलाई नियन्त्रणमा राख्न खानपान, व्यायाम र तनाव व्यवस्थापन त गर्नैपर्‍यो, साथमा नियमित औषधि पनि सेवन गर्नुपर्छ । विशेषज्ञ चिकित्सकलाई भेटेर औषधि कहिले खाने कसरी खानेबारे सम्पूर्ण जानकारी लिनुपर्छ ।

परिवारसँग समय बिताउने र खसी हुने गर्दा पनि मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ ।

मधुमेहबाट बच्न के गर्ने ?

परिवारमा कसैलाई मधुमेहको समस्या छ भने अन्य सदस्यले पनि समय-समयमा मधुमेह परीक्षण गर्नुपर्छ । उच्च रक्तचाप, कोलेस्टेरोल, युरिक एसिड, मुटुको समस्या भएका व्यक्ति र गर्भावस्थामा मधुमेहको समस्या देखिएका महिलाले पनि समय-समयमा सुगर लेभल जाँच गरिरहनुपर्छ ।

दैनिक व्यायाम गर्ने, उचाइ अनुसार तौल कायम गर्ने, स्वस्थ खानपानमा ध्यान दिने, धुम्रपान, मद्यपान नगर्ने र प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेसादार खानेकुरा खाने आदि कुरामा ध्यान दिन सके मधुमेहको जोखिम कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्